आसन्न विश्वकप छनोटकाे तयारी गर्न मेसीलाई अर्जेन्टिनाले फिर्ता बोलायो

79

काठमाडौं । अर्जेन्टिनाले आफ्ना स्टार लिओनल मेसीलाई फिर्ता बोलाएको छ। आसन्न विश्वकप छनोट प्रतियोगिताको लागि उनलाई स्वदेश फिर्ता बोलाइएको हो।

अर्जेन्टिनाले विश्वकप छनोटका आगामी खेलमा ब्राजिल र उरुग्वेसँग प्रतिस्पर्धा गर्दैछ। यी दुवै खेलका लागि प्रशिक्षक लियोनल स्कालोनीले मेसीलाई राष्ट्रिय टोलीमा समावेश गरेका छन्।

अर्जेन्टिनाले नोभेम्बर १३ मा उरुग्वे र नोभेम्बर १७ मा ब्राजिलसँग प्रतिस्पर्धा गर्दैछ। ११ खेलबाट ३१ अंक भएको ब्राजिल विश्वकपको लागि भइरहेको दक्षिण अमेरिकी महादेशको छनोटमा शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको ११ खेलबाट २५ अंक छ। १२ खेलबाट १७ अंक भएको इक्वेडर तेस्रोमा छ। दक्षिण अमेरिकाबाट कम्तिमा ४ र बढीमा ५ टोलीले विश्वकप खेल्छन्। त्यसैले अर्जेन्टिना मेसीबिना रिक्स लिन नचाहेको देखिएको छ।

यता, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पीएसजीले टोलीका स्टार स्ट्राइकर मेसीलाई राष्ट्रिय टोलीमा समेटेकामा असन्तुष्टि व्यक्त गरेको छ। चोटग्रस्त खेलाडीलाई टोलीमा बोलाइएको भन्दै पीएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्दाेले असन्तुष्टि पोखेका हुन्। उनका अनुसार मेसीको दायाँ घुँडामा चोट लागेको छ। उक्त चोटका कारण मेसी पीएसजीका पछिल्ला दुई खेलमा अनुपस्थित थिए।

यी खेलमा पीएसजीले च्याम्पियन्स लिगमा आरबी लेइपजिग र घरेलु लिगमा बोर्डेउक्ससँग प्रतिस्पर्धा गरेको थियो। चोट निको हुँदै गरेका खेलाडीलाई टोलीमा समेट्दा भविष्यमा थप संकट उत्पन्न हुने लियोनार्दोले बताएका छन्।

यसै सिजन स्पेनिस क्लब बार्सिलोनाबाट पीएसजीमा आवद्ध भएका मेसी फ्रान्सको घरेलु लिग (लिग १)मा अझै गोल गर्न सकेका छैनन्। तर, च्याम्पियन्स लिगमा भने उनले पीएसजीका लागि तीन गोल गरिसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here