काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै सर्वोच्च अदालतका न्यायाधीश, नेपाल बार एसोसिएन र सर्वोच्च अदालत बार एसोसिएन आन्दोलनमा छन्। उनीहरूले राणाले तत्काल राजीनामा दिनुपर्ने एकसूत्रीय माग राखेका छन्।
उनीहरूले प्रधानन्यायाधीश बहिर्गमनका लागि विधि र प्रक्रिया भएकोले अहिले घोषणा भएका आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन माग गरेका छन्। न्यायाधीशलाई अन्य मुद्दाको सुनुवाइका लागि फर्किन नेपाल बारको तर्फबाट आग्रह गर्न उनको माग छ।
कन्स्टिच्युसनल फोरम अफ नेपालका तर्फबाट ज्ञापनपत्र बुझाउँदै भनिएको छ, ‘कानुन व्यवसायीहरुलाई बहस पैरवी गर्ने वातावरण बनाइयोस्। न्यायापालिकाको समस्या समाधानका लागि उच्चस्तरीय शक्तिशाली आयोग गठनको लागि पहल गरियोस्।’
उनीहरूले न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन लागू गर्न नेपाल बारले पहल गर्नुपर्ने पनि माग गरेका छन्। संवैधानिक विधि र प्रक्रियाबाट समस्याको समाधान खोज्न उनीहरूले बारलाई आग्रह गरेका छन्।



















