काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतमा भइरहेको आन्दोलनका विषयमा पहिलोपटक औपचारिक अभिव्यक्ति दिएका छन्।
प्रधानन्यायाधीश जबराले विज्ञप्तिमार्फत बार एसोसिएसनलाई संवादमा आउनसमेत आह्वान गरेका छन्। विधिको पक्षमा कर्तव्य निर्वाह गर्ने क्रममा उठेका प्रश्नहरु तत्काल सम्बोधन गर्दै बार र बेन्चबीच हातेमालो हुनुपर्ने बताएका छन्। ‘नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसनलगायतका बार इकाइ न्यायपालिकाको अभिन्न अंग हुन्। वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरुको सम्बोधनको उपयुक्त विकल्प संवाद नै रहेको हुँदा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई संवादका लागि आह्वान समेत गर्दछु,’ उनको विज्ञप्तिमा उल्लेख छ।
प्रधानन्यायाधीशको विज्ञप्तिमा गत विहीबार सर्वोच्च अदालतमा परिसरमा वकिलहरुको धर्नामाथि भएको प्रहरी हस्तक्षेपप्रति दुःखसमेत व्यक्त गरिएको छ।
न्यायपालिकाको गरिमा र सम्मान जोगाउन प्रधानन्यायाधीशको जत्तिकै अग्रसरता बार र यसका इकाइको पनि रहने भन्दै बार र बेन्चले आफ्नो दायित्व बिर्सनु नहुने उल्लेख गरेका छन्।
उनले विज्ञप्तिमार्फत न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वयंले गठन गरेका आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने सन्दर्भमा आफू अग्रसरता लिन तयार रहेकोसमेत प्रष्ट पारेका छन्। न्यायपालिकामाथिका प्रहारले राज्यका अन्य निकायमा समेत क्षति पुग्ने कुराप्रति सचेत रहनसमेत प्रधानन्यायाधीश जबराले आग्रह गरेका छन्।


















