अर्जेन्टिनाले चाडै विश्वकपमा छनोट हुने मौका गुमायाे

72

काठमाडौं । ब्राजिलसँग घरेलु मैदानमा बुधबार बिहान गोलरहित बराबरीमा रोकिएपछि अर्जेन्टिनाले चाडै विश्वकपमा छनोट हुने मौका गुमाएको छ ।

बराबरीपछि अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोट प्रतियोगितामा १३ खेलबाट २९ अंक जोडेको छ । यसअघि नै विश्वकपमा स्थान पक्का गरिसकेको ब्राजिल भने ३५ अंकका साथ शीर्ष स्थानमा छ । अर्जेन्टिनाले अब विश्वकपमा स्थान पक्का गर्नका लागि अर्को खेलमा एक अंक जोडे पुग्नेछ । अर्जेन्टिनाले अब अर्को खेल चिलीविरुद्ध खेल्नेछ ।

दक्षिण अमेरिकाबाट शीर्ष चार टोलीले मात्र विश्वकपमा स्थान पक्का गर्नेछन् । पाँचौं स्थानमा हुनेले प्लेअफ खेल्नु पर्नेछ । छनोट प्रतियोगितामा कोलम्बिया र पेरु समान १७ अंकका साथ क्रमशः चौथो र पाँचौं स्थानमा छन् । अब चार खेल बाँकी हुँदा कोलम्बिया र पेरुले सबै खेल जिते पनि २९ अंकमात्र हुनेछ । त्यसकारण अर्जेन्टिनाले अब एक अंक जोडे पनि विश्वकपमा छनोट हुनेछ ।

यसअघि अर्जेन्टिना र ब्राजिलको खेल बीचमै रोकिएको थियो । उक्त खेल पुनः खेलाउने वा के गर्ने भनेर फिफाले अझै निर्णय गर्न सकेको छैन । खेल भइरहेको अवस्थामा अर्जेन्टिनाका केही खेलाडीले कोभिड–१९ स्वास्थ्य प्रोटोकल पालना नगरेको भन्दै ब्राजिलका स्वस्थ्य अधिकारी आएर बीचैमा रोकेका थिए । त्यसपछि खेल स्थगित भएको थियो ।

चौथो स्थानमा रहेको कोलम्बियाले पनि पाराग्वेसँग गोलरहित बराबरी खेल्यो । उरुग्वे बोलिभियसँग ३–० ले पराजित भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here