काठमाडौं । चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको कामले गत वर्ष (२०७६) चैतपछि गति लिनसकेको छैन।
पुनःनिर्माणका क्रममा परम्परागत सामग्री उपलब्ध गराउने तथा सुपरिवेक्षणको भूमिका पनि विभागलाई नै दिइएको छ। हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनाल २०७६ चैतअघि नै चिनियाँ नयाँवर्ष मनाउन गएका चिनियाँ कामदार कोरोना महामारीका कारण आउन नपाएपछि काममा अवरोध भएको बताउँछन्।
कोरोना सुरु हुनुअघि नै ८० प्रतिशत काम सकिएको नौतले दरबार पुनःनिर्माणको भौतिक प्रगति अहिले ८५ प्रतिशत रहेको उनले सुनाए। पछिल्लो समय कोरोना जोखिम कम हुँदै गए पनि नेपाल–चीन बीचको उडान नखुलेका कारण कामदार आउन पाएका छैनन्।
कामदार आउन नपाए पनि यहाँ गर्न सकिने काम भइरहेको दरबार हेरचाह अड्डाले जनाएको छ।
विभागका महानिर्देशक दामोदर गौतम कोरोना सुरु हुनुअघि दातृ राष्ट्रले गरिरहेका काममध्येमा नौतले धरहराको काम छिटो गतिमा भइरहेको बताउँछन्। समय अझै बाँकी रहेकाले तोकिएको समयमा काम सम्पन्न गरी दुई देशबीचको सम्बन्धमा थप प्रगाढता आउने उनको भनाइ छ।
करिब १६ करोड लागतमा दरबार पुनःनिर्माण भइरहेको हो। दरबार पुन:निर्माणका लागि २०७४ साउन ३२ गते शिलान्यास गरिएको थियो । नेपाल भ्रमणमा रहेका तत्कालीन चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र नेपालका तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संयुक्त रूपमा दरबार पुनःनिर्माणको शिलान्यास गरेका थिए।
१८२६ सालमा पृथ्वीनारायण शाहले निर्माण गराएको दरबार १२ वैशाख २०७२ को भूकम्पमा क्षतिग्रस्त बनेको थियो।
सम्झौताअनुसार पुन:निर्माणको काम सन् २०२२ को नोभेम्बरसम्ममा सम्पन्न भइसक्नुपर्नेछ। RSS


















