मुगु । मुगुको गमगढी बजारमा गएको कात्तिक २९ गते भएको आगलागीबाट घरबारविहीन भएकाहरुलाई अस्ट्रेलियाबाट सहयोग गरिएको छ।
अस्ट्रेलिया बस्दै आएका मुगुका युवाहरु तथा अस्ट्रेलियाको व्यवसायिक फुटबल क्लब बेनी एफसीले आगलागीबाट घर पूर्ण रुपमा क्षति भएकाहरुलाई अत्यावश्यक सामग्रीका लागि दुई लाख ४२ हजार रुपैयाँ सहयोग गरिएको हो। जसमा बेनी फुटक्लवले मात्रै एकहजार ६१ अस्ट्रेलियन डलर सहयोग गरेको थियो।
स्थानीय युवा रोशनजंग शाही र धर्मराज शाहीको पहलमा अस्ट्रेलिया बस्दै आएका जयन्द शाही, धिरेन्द्र शाहीसहितका मुगमली युवाहरु र बेनी एफसीले आर्थिक सहयोग गरेका हुन्।
सहयोग रकम खाद्यान्न, भाँडाकुँडा तथा लत्ताकपडासहितका अत्यावश्यक सामग्री वितरणमा खर्च गरिने स्थानीय युवा रोशनजंग शाहीले बताएका छन्।
आगलागीबाट तल्लो गमगढी बजारका २१ घरमा क्षति भएको थियो। पानीको अभावमा आगो नियन्त्रणमा लिन कठिन भएको थियो।


















