काठमाडाैं । नेकपा एमालेको महाधिवेशन नतिजा सार्वजनिक गरिएको छ । अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनको सौराहामा भएको मतगणनाको परिणामअनुसार अध्यक्षमा ओलीले एक हजार आठ सय ४० मत प्राप्त गरेका छन् भने रावलले दुई सय २३ मत ल्याएका हुन् अध्यक्षमा ओलीलाई सर्वसम्मत गराउने निकै प्रयास भए पनि भीम रावलले उम्मेदवारी फिर्ता नलिएपछि चुनाव भएको थियो ।
चुनावमा ओलीले रावललाई ठूलो मतान्तरले हराएका थिए । यही मङ्सिर १० गतेदेखि चितवनको सौराहामा सुरु महाधिवेशनमा दुई हजार एक सय ५३ प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको थियो ।
ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित हुनुभएको हो । यसअघि नवौँ महाधिवेशनमा पनि ओलीले माधवकुमार नेपाललाई हराएर अध्यक्ष जितेका थिए । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेललगायत पदाधिकारी भने निर्विरोध निर्वाचित भइसकेका छन् । तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित भइसकेका छन् ।
महाधिवेशनको बन्द सत्रको पहिलो दिन यही मङ्सिर ११ गते अध्यक्ष मण्डलका अध्यक्ष ओलीलाई तीन सय एक सदस्यीय केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यका उम्मेदवारको नामावली प्रस्तुत गर्न अधिकार दिएको थियो । अध्यक्ष ओलीले विभिन्न नेतासँगको परामर्शमा १२ गतेको बन्द सत्रमा नामावली प्रस्तुत गर्दा धेरैले सहमति जनाएकामा रावल, भुसाललगायतका नेताले अस्वीकार गरेपछि निर्वाचन भएको हो ।
निर्वाचनको परिणाम यस्तो छ : अध्यक्ष- केपी शर्मा ओली (१८४०) वरिष्ठ उपाध्यक्ष- ईश्वर पोखरेल (निर्विरोध) महासचिव- शंकर पोखरेल (निर्विरोध) उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य (१९७६) सुरेन्द्र पाण्डे (१९२५) सुवास नेम्वाङ (१८६५) विष्णु पौडेल (१८५६) युवराज ज्ञवाली (१८४२) रामबहादुर थापा ‘बादल’ (१७६८) उपमहासचिवहरू प्रदीप ज्ञवाली (निर्विरोध) पृथ्वीसुब्बा गुरूङ (निर्विरोध) विष्णु रिमाल (निर्विरोध) सचिवहरू गोकर्ण विष्ट (१९७६) योगेश भट्टराई (१९६४) पद्मा अर्याल (१८००) छबिलाल विश्वकर्मा (१८००) लेखराज भट्ट (१७०४) टोपबहादुर रायामाझी (१७००) रघुवीर महासेठ (१५१३)


















