काठमाडौं । भक्तपुरको बालकोटमा कुटपिटबाट राष्ट्रिय युवा संघका जिल्ला सदस्य राजन श्रेष्ठको हत्या भएको छ। ३३ वर्षीय श्रेष्ठको हत्यामा राजनीतिक कारण नदेखिएको प्रहरीले जनाएको छ।
सूर्यविनायक नगरपालिका–२ बालकोट बसिटोलनजिकै खाली जग्गामा मंगलबार राति स्थानीय ३३ वर्षीय राजन श्रेष्ठ मरणासन्न अवस्थामा भेटिएका थिए।
उनलाई तत्कालै उपचारका लागि अस्पताल पुर्याइएपनि मध्यपुर थिमि अस्पतालमा उनको मृत्यु भएको भक्तपुर प्रहरी परिसरका निमित्त प्रवक्ता लोकबहादुर जिसीले जानकारी दिए। दुई लाख रुपैयाँ लेनदेनको विषयमा भनाभन हुँदा घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। प्रारम्भिक अनुसन्धान अनुसार सापटी लिएकासँग कुराकानी भइरहेका बेला अर्का व्यक्ति आएर बोलेपछि श्रेष्ठ आक्रामक भएका थिए ।
सोही क्रममा उनीमाथि कुटपिट भएको हो। घटनामा संलग्न रहेको आरोप दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। श्रेष्ठको टाउकोमा गहिरो चोट लागेको थियो। भक्तपुरका एमाले सांसद महेश बस्नेतले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।


















