काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको पुस ३ गतेभित्र टुंगो लगाउन निर्देशन दिएको छ।
पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन हुने भएकाले तत्काल प्रदेश पदाधिकारी टुंगो लगाउन मातहतका कमिटीलाई माओवादी केन्द्रले निर्देशन दिएको हो।
अहिलेसम्म उपत्यका विशेष प्रदेश समिति अध्यक्ष जगत सिंम्खडा, सम्पर्क समन्वय प्रदेश अध्यक्ष श्रीकृष्ण अधिकारी र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङको मात्रै नेतृत्व टुंगो लागेको छ।
प्रदेश-१, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेतृत्वसहित पदाधिकारीमा सहमति हुन सकेको छैन। प्रदेश अध्यक्षसहित पदाधिकारीमा सहमति हुन नसकेपछि प्रदेश समिति मात्रै घोषणा गरिएको छ।
प्रदेश अध्यक्ष र पदाधिकारी बन्नका लागि पार्टी केन्द्रीय सदस्यले नै दाबी गर्न थालेपछि सकस भएको हो। सबै प्रदेशमा प्रदेश समिति बने पनि अध्यक्षसहित पदाधिकारी टुंगो लगाउन वाँकी रहेको र त्यसलाई टुंग्याउनु पर्ने उर्जा जलस्रोत तथा सिचाई मन्त्रीसमेत रहेकी भुसालले बताइन्।
‘अहिले सबै प्रदेशको सम्मेलन सकिएको छ। कतिपय प्रदेशमा अध्यक्षसहित पदाधिकारी टुंगो लागेका छन्। वाँकी रहेका प्रदेशमा समिति बनेपनि अध्यक्ष र पदाधिकारीमा सहमति हुन सकेको छैन’ नेपाल लाइभसँग कुरा गर्दै भुसालले भनिन्, ‘वाँकी रहेका प्रदेश अध्यक्ष र पदाधिकारी पुस ३ गतेभित्र टुंगो लाग्छ।’
प्रदेश सम्मेलन सकिएपछि मात्रै राष्ट्रिय सम्मेलनमा सहभागी प्रतिनिधिको छनोट हुने भएकाले तत्काल टुंगो लगाउन निर्देशन दिएको हो। तर, प्रदेश नम्बर दुईको उद्घाटन भए पनि पुस ३ गते मात्रै बन्दसत्र हुने भएको छ। यस प्रदेशमा पालिका अधिवेशन हुन वाँकी भएकाले प्रदेश बन्दसत्र पुस ३ गते सारिएको केन्द्रीय सदस्य विश्वनाथ साहले बताए।
६ प्रदेशमा अध्यक्षसहित पदाधिकारी टुंगो लगाउन वाँकी
प्रदेश-१ मा २ सय ५१ सदस्यीय प्रदेश कमिटी बनाएको छ। अध्यक्षका लागि केन्द्रीय सदस्य हेमराज भण्डारी, सुदन किराती र सुरेशकुमार राईले दाबी गरेपछि सर्वसम्मत हुन नसकेको एक नेताले बताए। तीनै जना केन्द्रीय सदस्य छोडेर प्रदेश अध्यक्ष हुन तयार भएका छन्।
प्रदेश अध्यक्षका लागि केन्द्रीय हेमराज शर्मा‘डाईमन’ र दीपेन्द्र पुन‘सिजल’ले दाबी गरेका छन्। शर्मा र पुनले आफ्नो दाबी छोड्न नमानेपछि लुम्बिनी प्रदेश सांसद सुदर्शन बराललाई सर्वसम्मत अध्यक्ष बनाउने तयारी गरिएपनि पदाधिकारीमा सहमति हुन नसकेको एक नेताले जनाए।
कर्णाली प्रदेश अध्यक्ष हुन पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित संघका पूर्व मन्त्री टेकबहादुर बस्नेतले समेत दाबी गरेका छन्। यस्तै प्रदेशका पूर्वमन्त्री कृष्णा केसी र निवर्तमान प्रदेश अध्यक्ष राजकुमार शर्माले समेत प्रदेश अध्यक्षमा दाबी गरेका छन्। प्रदेश अध्यक्षमा पूर्वमुख्यमन्त्रीसहित मन्त्रीले समेत दाबी छोड्न तयार नभएपछि प्रदेश पदाधिकारी टुंगो लाग्न नकसेको बैठकमा सहभागी एक नेताले बताए। प्रदेश अध्यक्षसहित पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि २ सय ११ सदस्यीय प्रदेश समिति बनाएर शपथ भएको छ।
प्रदेश अध्यक्षसहित पदाधिकारी बनाउनमा सर्वसम्मत बनाउन नेताहरुबीच छलफल चलिरहेको ति नेताले जनाए । यस्तै सुदूरपश्चिम प्रदेशमा २ सय २३ सदस्यीय प्रदेश समिति मात्रै बनाएको नेता ओमविक्रम भाट‘सरल’ले बताए। पार्टीको सक्रिय सदस्यका आधारमा जिल्लाबाट प्रदेश सदस्य टुंगो लगाउन सम्बन्धीत जिल्लालाई जिम्मा दिएको छ।
सुदूरपश्चिमका ९ जिल्लाले आ–आफ्नो जिल्लाबाट प्रदेश सदस्य सिफारिस गरेका छन्। प्रदेश अध्यक्षका लागि हरिराम चौधरी र नरेन्द्र कुँवरले दाबी गरेका छन्। अरु केन्द्रीय सदस्यहरुले प्रदेश अध्यक्षमा दाबी छोडेपछि कुँवर चौधरी मात्रै दाबी गरेका छन्। कुँवर पार्टी केन्द्रीय सदस्य छन् भने चौधरी राष्ट्रिय सभा सदस्य र पार्टीमा प्रदेश समितिमा छन्। प्रदेश समितिको टुंगो लगाएपछि मात्रै अध्यक्षसहित पदाधिकारीमा सहमतिका लागि छलफल अघि बढाइने भएको छ।

















