काठमाडौं । खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ अध्यक्ष पंकज नेम्वाङलाई ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । खेलाडी संघले खेलाडी र मुख्य प्रशिक्षकबीचको प्रकरणमा छानबीन समितिले बुझाएको एक बुँदालाई कार्यान्वयन गर्न पनि जोड दिइएको छ ।छानबीन समितिले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीको विकल्प खोज्न प्रतिवेदनमा सुझाव उल्लेख गरिएको थियो । यही सुझावलाई आधार बनाएर खेलाडी संघले छिट्टै एन्फाले यसको कार्यान्वयन गर्न अनुरोध गरेको छ । हाल प्रशिक्षक अल्मुताइरी छुट्टीमा रहेका छन् ।
यस विषयमा खेलाडी संघले नयाँ नेतृत्वको एन्फालाई धन्यवाद पनि दिएको छ । साथै, खेलाडी संघले खेलाडीको बिमा र स्वास्थ्य उपचारका लागि उचित प्रबन्ध गर्नुहुन पनि ध्यानाकर्षण पत्रमा समेटिएको छ । अन्य बुँदामा खेलाडीलाई वर्षभरि व्यस्त गर्न प्रतियोगिता आयोजना गर्नु पर्ने, खेलाडीलाई विदेश जान रोक्न एन्फाले सकारात्मक कदम चाल्न अनुरोधसमेत गरिएको छ ।