आज १५ लाख डोज मोडर्ना खोप नेपाल आइपुग्दै

63

काठमाडौं । कोभिड-१९ विरुद्धको करिब १५ लाख डोज मोडर्ना खोप आज नेपाल आइपुग्ने भएको छ।  स्वास्थ्य सेवा विभागका अनुसार गाभी र काेभ्याक्स सुविधामार्फत १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप  आज आउन लागेकाे हाे।

साथै, आगामी आइतबार मोडर्नाकै थप १९ लाख ६५ हजार ६०० डोज खोप आउने स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका  वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए। यससँगै नेपाल भित्रने मोडर्ना खोपको कूल संख्या ३६ हजार ५१ हजार ६०० डोज पुग्नेछ। यसअघि शुक्रबार मोडर्नाकै एक लाख ८८ हजार डोज खोप आएको थियो।

यस्तै, कोभिशिल्डको ६ लाख डोज हिजाे आइपुगेकाे थापाले जानकारी दिए। कोभ्याक्स सुिवधाअन्तर्गत प्राप्त कोरोनाविरुद्धको मोडर्ना खोप १८ वर्ष मुनिका बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

खोप अभियान सुरु भएदेखि हालसम्म नेपालमा कुल एक करोड ९२ लाख ८५ हजार १९७ मात्रा खोप लगाइएको छ। जसमध्ये एक करोड पाँच लाख चार हजार ७६४ जनाले पहिलो मात्रा र ८७ लाख ८० हजार ४३३ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here