चाक्सीबारीमा सहमति जुट्न सकेन, पौडेल पक्षका नेताहरुको बैठक बस्दै

78

काठमाडौं / नेकाको १४औं महाधिवेशनमा सभापतिका साझा उम्मेदवार अगाडि सार्ने विषयमा निरन्तर छलफलमा रहेका नेपाली कांग्रेस संस्थापन इतर पौडेलपक्षका नेताहरुबीच आज बिहीबार साँझ पनि छलफल हुने भएको छ।
इतर पक्षका शीर्ष नेताहरुबीचको छलफलमा साझा उम्मेदवारबारे सहमति जुट्न नसकेपछि दोस्रो तहका युवा नेताहरुले छलफल गर्न थालेका हुन्।
युवा नेताहरुबीच बिहीबार साँझ महामन्त्री डा शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा छलफल हुन लागेको हो।
यसअघि नेता प्रकाशमान सिंहको काठमाडौं चाक्सीबारीस्थित निवासमा शीर्ष नेताहरुबीच छलफल हुँदै आएको थियो।
बिहीबार साँझ पनि साझा उम्मेदवारको विषयमा सहमति जुटाउन प्रयास गरिने इतर पक्षका एक नेताले जानकारी दिए।
इतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला तथा नेताहरु प्रकाशमान सिंह र डा शेखर कोइराला सभापतिका आकांक्षी छन्।
सभापतिमा साझा उम्मेदवार अगाडि सार्नका लागि सहमति गर्न भन्दै इतर पक्षका नेताहरु सोमबारदेखि छलफलमा छन्। सोमबार पौडेलको बोहोराटारस्थित निवासमा छलफल भएको थियो।
त्यसपछि मंगलबार र बुधबार नेता सिंहको निवास चाक्सीबारीमा दिनभरजसो नेताहरुले छलफल गरेका थिए। तर, सभापतिका आकांक्षीमध्ये नेता सिंह र डा कोइराला आ–आफ्नो अडानबाट पछि नहट्दा साझा उम्मेदवारबारे सहमति जुट्न नसकेको नेताहरुको भनाइ छ।
कांग्रेसको १४औं महाधिवेशन भोलि शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here