एसियन सेन्ट्रल जोन भलिबल खेल्न नेपाली पुरुष टीमको घोषणा

132

काठमाडौं । एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप खेल्ने नेपाली पुरुष टीमको घोषणा भएको छ । टीममा तीन वर्षपछि राष्ट्रिय टिममा मानबहादुर श्रेष्ठले कमब्याक गरेका छन् ।

नेपाल भलिबल संघले आइतबार इम रानाको कप्तानीमा १२ सदस्यीय टिम घोषणा गर्दा मानबहादुरसँगै भैरव बमले पनि राष्ट्रिय टीममा कमब्याक गरेका छन् । सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप यही डिसेम्बर २१ देखि २९ सम्म बंगलादेशको ढाकामा हुँदैछ । बन्द प्रशिक्षणमा रहेका १६ खेलाडीबाट मुख्य प्रशिक्षक हान एबिङले आइतबार अन्तिम टीम छनोट गरेका हुन् ।

यसअघि नियमित लिब्रोको भूमिकामा रहेका ईश्वर थापा भने यस पटक टीममा पर्न असफल भए । यस्तै दीपकराज जोशी, रबिन चन्द र धिरज बस्नेत पनि टीमबाट बाहिरिएका थिए ।दुई वर्षअघि नेपालमा भएको १३ औं साग खेलेपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ । त्यसबेला टीममा रहेका ईश्वर र रबिनसहित कुलबहादुर थापा, द्वारिका थापा यसपटक टीममा छैनन् ।

१३ औं सागमा बिच भलिबल खेलेका मानबहादुर श्रेष्ठले २०१८ पछि पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका हुन् । उनले पछिल्लो पटक २०१८ मा इन्डोनेसियामा एसियन गेम्स खेलेका थिए । २०१९ मा नेपालमा भएको एसियन सेन्ट्रल जोन र १३ औं सागमा भने उनी टीममा थिएनन् ।

नेपाली भलिबल टाेलीमा ईम राना मगर, हरिहजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, टेकराज अवस्थी, हरिबहादुर अधिकारी, दुर्गाबहादुर खड्का, भैरवबहादुर बम, शरण समारी क्षेत्री, विशाल विक, विनोद चन्द  छनाैटमा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here