नेपालको राजनीतिमा प्रचण्डले ठूलो योगदान : प्रम देउवा

162

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन आइतबारदेखि सुरु भएको छ। काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज उद्घाटन भएको महाधिवेशन मंगलबार चल्ने छ।

महाधिवेशनमा शुभकामना दिन प्रधानमन्त्री शेरबहादुर देउवादेखि पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, एमाले महासचिव शंकर पोखरेललगायतका नेता प्रज्ञा भवन पुगेका थिए।

कार्यक्रममा सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकअर्काको प्रशंसामा समय खर्चिएका थिए। अन्य पार्टीका नेताहरुको सम्बोधन सकिएपछि बोलेका प्रधानमन्त्री देउवाले नेपालको राजनीतिमा प्रचण्डले ठूलो योगदान गरेको बताए।

त्यसक्रममा प्रधानमन्त्री देउवाले प्रचण्डकै अगुवाइमा संविधान बनेको टिप्पणी गरेका थिए।

देउवाले प्रचण्डको प्रशंसा गर्दै भने, ‘दाहालजीले नेपालको राजनीतिमा ठूलो योगदान दिनुभएको छ। संविधान बनाउने काममा उहाँको ठूलो योगदान छ। उहाँकै अगुवाइमा संविधान बनेको छ। समावेशी छ, समानुपातिक छ, गणतन्त्र छ। यो महत्वपूर्ण छ, यो काममा उहाँको महत्वपूर्ण योगदान छ।’

सत्ता गठबन्धन अझै अगाडि बढोस् भन्ने आफ्नो चाहना भएको प्रधानमन्त्री देउवाको भनाइ थियो।

महाधिवेशन उद्घाटन समारोहको अन्तिममा बोलेका प्रचण्डले पनि प्रधानमन्त्री देउवाको प्रशंसामा केही समय खर्चिए।

देउवाको प्रशंसाबाट दंग परेका प्रचण्डले भने, ‘बडो संक्षिप्त बोल्ने हाम्रो प्रधानमन्त्री जी। आज बडो सुन्दर बोल्नुभएको लाग्यो। कस्तो मिठो बोल्न सक्याजस्तो लाग्यो। उहाँ मान्छे बडो सोझोजस्तो पनि, इनोसेन्ट हो कि जस्तो पनि। सजिलै भन्दिनु भयो– यो सबै प्रचण्डले नै भयो है, नत्र हुन्थेन भन्दिनु भो उहाँले त। तर ठूलै स्टेटमेन्ट भन्दिनु भो। म प्रधानमन्त्रीप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।’

प्रधानमन्त्री देउवाले इतिहासको खास–खास मोडमा ठूल्ठूला स्टेटमेन्ट दिएको समेत बताए। देउवाले प्रधानमन्त्री हुँदा आफूलाई प्रचण्ड देशको बहादुर नेता हो भनेको र त्यसको ठूलो प्रभाव परेको समेत उनको भनाइ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here