काठमाडौं । थानकोटको एक कारखानाबाट पाइप बनाउन प्रयोग हुने तामा र पित्तलबाट बनेको कल साइजर चोरी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रागिरि नगरपालिका–३ थानकोटस्थित विशाल प्लाष्टोक्याब प्रालिको कारखानाबाट ६ थान साइजर र तामाको पावर केबल तारगरी १८ लाख ७६ हजार ४०० रुपैयाँ बराबरको सामान चोरी गर्ने ६ जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३१ वर्षीय रोशन उप्रेती, सर्लाहीका ३३ वर्षीय राम पुनित महतो, नुवाकाटेका ३६ वर्षीय राम बाघदास, सर्लाहीका ३२ वर्षीय राजु गुप्ता भनिने रामविश्व महतो, सर्लाहीकै २६ वर्षीय अशोककुमार महतो र भारतको मोतिहारी घर भइ टेकू बस्ने ५३ वर्षीय सत्रुधन प्रसाद जैसवाल रहेका छन् । जैसवालले चोरीको सामान किनेका थिए ।
प्रहरीले उनीहरूको साथबाट साढे ९ केजी तामा पित्तलको तारका क्वाइलसमेत बरामद गरेको छ ।
गत मंसिर ११ गते राति साढे १२ बजेदेखि २ बजेको समयमा चोरी गरेका थिए । पक्राउ परेकाहरूलाई थप कारबाहीका लागि महानगरीय प्रहरी वृत्त थानकोटमा पठाइएको महाशाखाले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट उनीहरूले रातको समयमा ट्याक्सी प्रयोग गरेर समूह बनाई विभिन्न सहकारी संस्था लगायतका अन्य कारखानामा समेत चोरी गर्ने गरेको खुल्न आएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















