सेवा प्रदान गर्ने श्रमिकहरुलाई एक प्रश्न — ‘भावनात्मक श्रम’ सहन गर्ने कि व्यवस्थापन गर्ने ?

89

—प्रविणराज गौतम

नेपालको संविधानले सवैको अधिकार सुक्षित गरी मजदुरहरुले आत्मसम्मानका साथ काम गर्न पाउनुपर्ने कुरालाई स्पष्ट पारिसकेको अवस्था भएतापनि ‘भावनात्मक श्रम’ जस्तो अत्यन्त कठिन परिस्थितिको सामना सेवा प्रदान गर्ने श्रमिकहरुले लगातार रुपमा गरिराखेको कुरा प्रष्ट रुपमा देख्न सकिन्छ । ‘भावनात्मक श्रम’ वारे जानकारीको कमी र जानकारी भएता पनि समाजको मौन समर्थनको कारणले गर्दा हाम्रो जस्तो सामाजिक संरचना र संस्कृति भएको देशमा यसले राम्रैसंग जरा गाडेको छ ।

सम्बन्धित निकायहरुको वेवास्ता, श्रमिकहरुले आवाज नउठाउनु , श्रम ऐन कानुनमा यसबारे स्पस्ट रुपमा उल्लेख नगरिनु र यसलाई सामान्य रुपमा लिइनु नै यसको वलियो उपस्थितिको कारण हो । सर्वप्रथम ‘भावनात्मक श्रम’ के हो भन्ने कुरा बुझ्न जरुरी छ । ‘भावनात्मक श्रम’ लाई प्रख्यात समाजशास्त्री डा. अर्ली होच्स्चिल्डले ४० वर्ष अगाडि आफ्नो किताव द मैनडेड हर्टमा उल्लेख गर्नु भएको थियो ।

तीन फरक—फरक तर सम्बन्धित शव्दहरुबाट यसलाई परिभाषित गरी विश्व सामु कसरी सेवा प्रदायक श्रमिकले यसलाई भोगिराखेका छन् र यसले उनीहरुलाई कसरी हानी गरिराखेको छ भन्ने कुरा स्पष्ट पार्नू भएको थियो । वहाँका अनुसार, प्रथम — ‘नियमको महसुस गर्नु’ जसले काममा भावनात्मक मापदण्ड स्थापित गर्दछ र संस्थाले श्रमिकसंग त्यसको अपेक्षा गर्दछ । दोस्रो — “भावना व्यवस्थापन”, जसले श्रमिकको भावनाहरुलाई प्रतिवन्धित गर्नको लागि आवश्यक कार्य निर्धारण गर्दछ र तेस्रो  — “भावनात्मक श्रम’ जुन संस्थाले श्रमिकहरुलाई केही भावनाहरु नियन्त्रण गरी कार्य गर्नको लागि वाध्य गर्दछ । यी सबै कुराको मुख्य निचोड भनेको सेवा प्रदान गर्ने श्रमिकले गर्ने त्यस्तो कार्य हो जहाँ श्रमिकले आफ्नो भावनाहरुलाई नियन्त्रण गर्नुपर्ने महसुस गर्दछ । अझ स्पष्ट रुपमा भन्नु पदर्दा संस्थाले आफ्नो श्रमिकहरुलाई ग्राहकको सेवा गर्दा अपभानजनक परिस्थिति भयो भने पनि आफ्नो भावना नियन्त्रण गरी मुस्कुराउँदै काम गर्नुपर्छ भन्ने माग राख्दछ र श्रमिकले अपमान सहेर सो कार्य गर्नु पर्छ भने त्यो ‘भावनात्मक श्रम’ हो ।

काम कुनै ठुलो र सानो केहि हँुदैन । जो जुन कुरामा निपुर्ण छ उसले त्यहि काम गर्ने हो । दुर्भाग्यवश हाम्रो समाजमा मानिसले गर्ने कामको आधारमा उसको हैसियत मापन गर्ने गरिन्छ । त्यस्तै जसरी भएपनि नाफा कमाउने र त्यसको लागि आफ्नो कर्मचारीलाई जस्तोसुकै रुपमा पनि परिचालित गर्ने संस्थाहरुको संस्कृतिले पनि ‘भावनात्मक श्रम’ लाई फल्ने र फुल्ने मौका प्रदान गरिराखेको छ । श्रमिकहरुको नेतृत्व गर्ने श्रम संगठनहरुले पनि यसबारे प्रत्यक्ष रुपमा बोलेको र वहस चलाएको देखिएको छैन । साथै सरकारको तर्फबाट पनि ‘भावनात्मक श्रम’ नै भनेर श्रमिकहरुलाई शिक्षित गराइएको हालसम्म थाहा पाइएको छैन । यो अवस्था हुनुको मुख्य कारण भनेकै ‘भावनात्मक श्रम’ बारे सवै क्षेत्र अनभिज्ञ हुनु हो ।

विश्व आधुनिकिकरणमा गैसकेको अवस्थामा के नेपालमा सेवा प्रदायक श्रमिकहरुले  ‘भावनात्मक श्रम’  को नकारात्मक प्रभाव बेहोरिरहनु पर्ने नै हो ? के यसको व्यवस्थापन गर्ने बेला भएको छैन ? हामी पर्यटन लगायत सेवा अभिबृद्धि गरी देशलाई विश्व सामु चिनाउने जमर्को गरी राखेका छौ । यस्तो बेला त्यस्तो सेवा प्रदान गर्दे श्रमिकहरुको ‘भावनात्मक श्रम’  को उचित व्यवस्थापन गर्ने दायित्वबारे अनभिज्ञ हुने वा व्यवस्था गर्ने हो ? के शिक्षकले विद्यार्थीले गरेको अपमान बावजुद पनि मुस्कान सहितको अध्ययन गर्ने ? के विमान परिचारिकाले यात्रुले गरेको अपमान सहेर मुस्कान सहितको सेवा दिने ? के नर्स तथा डाक्टरहरुले विरामीको आफन्तले गर्ने अपमान सहेर पनि सेवा दिनु पर्ने ? के बैंकमा काम गर्ने कर्मचारीले ग्राहकले गरेको अपमान सहेर पनि सेवा दिनु पर्ने ? प्रश्नहरु धेरै महत्वपुर्ण छन् । यहाँ स्वास्थ क्षेत्रमा कार्यरत सेवा प्रदायक श्रमिकहरुले अपमान सहेर पनि सेवा प्रदान गर्नु पर्ने बाध्यता छ । किनकी जीवन महत्वपुर्ण छ । यहाँ जस्तोसुकै परिस्थिति भएपनि जीवन बचाउँनु प्रमुख दायित्व हो । अरु क्षेत्रमा कामगर्ने श्रमिकहरु स्वास्थ क्षेत्रमा काम गर्ने श्रमिकहरुको जस्तो प्रत्यक्ष रुपमा मानव स्वास्थसँग नहोला, तर सबै सेवा प्रदायक श्रमिकहरुले भोग्ने र बेहोर्ने ‘भावनात्मक श्रम’ एउटै हो र त्यसले श्रमिकमा पार्ने नकारात्मक प्रभाव पनि एउटै हो ।

‘भावनात्मक श्रम’ अप्रत्यक्ष तर शारीरिक श्रम जस्तै थकानपुर्ण काम हो । यसले श्रमिकहरुको मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने हुनाले शारिरीक र मानसिक थकान दुवै अनुभव हुने हुनाले यो शारीरिक श्रम भन्दा पनि अझ थकानपूर्ण कार्य हो । बारम्वार महशुस हुने यस्तो थकानको कारणले गर्दा श्रमिकहरुको प्रदर्शनमा त्रुटी आउने, तनावको अवस्था श्रृजना हुने र यसले श्रमिकले प्रदान गर्ने सेवा प्रत्यक्ष रुपमा प्रभावित हुने हुनाले संस्था र श्रमिक दुवै यसको हानिबाट बच्न सक्तैनन् । ग्राहकको अप्रिय व्यवहारको बावजुद पनि श्रमिकले आफ्नो साँचो भावनाहरु प्रतिबिम्बित नगरी नक्कली मुस्कान सहित सेवा प्रदान गर्न बाध्य हुने अवस्थाको कारणले गर्दा प्रत्यक दिन श्रमिकले अफ्नो मानसिक र शारिरीक स्वास्थमा नकारात्मक प्रभाव पारिराखेको हुन्छ ।

चिन्ता, थकान, पारिवारिक सम्बन्ध विग्रनु, अनिन्द्रा, मानक पदार्थ सेवनमा बृद्धिजस्ता कुराहरु श्रमिकको जीवनमा देखा पर्दछन्, जसले गर्दा श्रमिकको व्यवसायिक जीवन र पारिवारिक जीवन दुवै विनाश हुन जान्छ । यो कुरा ‘भावनात्मक श्रम’ सँग सम्बन्धित अनुसंन्धानहरुले देखाईसकेका छन् । श्रमिकहरुको यो अवस्थाको नकारात्मक प्रभाव कार्यस्थलमा देखाउने प्रदर्शनमा पर्दछ । यस्तो अवस्थामा पनि श्रमिकलाई नै आरोप लगाई खराव प्रदर्शनको नाममा या त श्रमिकलाई जागिरबाट निस्कासन गरिन्छ वा अनुशासनको कारवाही गरिन्छ । यो कहाँसम्मको न्यायपुर्ण कार्य हो ? यहाँ श्रमिकको गल्ती कहाँ छ ? संस्था आफैले ‘भावनात्मक श्रम’ को अपेक्षा राख्ने र सो को परिणामस्वरुप श्रमिकको कार्यक्षमतामा आएको ह्रासलाई अनुशासनको नाममा कारवाही गर्ने कुरालाई के राम्रो मान्न सकिन्छ ?

‘भावनात्मक श्रम’ लाई पूर्णरुपमा हटाउन सकिदैन, तर यसको उचित व्यवस्थापन गरेर श्रमिकहरुको स्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई भने कम गर्न सकिन्छ । त्यसको लागि सबै मजदुर संगठन, सम्बन्धित मन्त्रालय, श्रमिकहरु र संचार माध्यमहरुले यसलाई राम्रोसँग बुझेर अगाडि वढनुको विकल्प छैन । सर्वप्रथम जनशक्ति विकासमा विशेषज्ञता हासिल गरेका, अध्ययन गरिराखेका र जनशक्ति विकासमा चासो राख्ने सवैले व्यापक रुपमा  ‘भावनात्मक श्रम’ के हो भन्ने कुरालाई सबै श्रम संगठनहरु र श्रमिकहरुलाई सुचित गर्नुपर्दछ तथा शिक्षित गर्नु पर्दछ । जसले गर्दा यसको वारेमा व्यापक छलफल होस र हाम्रो माटो सुहाउँदो तरिकाले यसलाई व्यवस्थापन गर्न सकियोस् । नेपालको जनशक्ति विकासको क्षेत्रमा यो अत्यन्त नयाँ विषय भएको तर वर्षौदेखि सेवाप्रदायक श्रमिकहरुले यसको नकारात्मक प्रभाव बेहोरिरहेकोले यसको वारेमा छलफल भई आवश्यक कदम चाल्नु पर्ने बेला भईसकेको छ । सेवा प्रदायक श्रमिकहरुले पनि  ‘भावनात्मक श्रम’ सहन गर्ने कि व्यवस्थापन गर्ने भनी सर्वप्रथम आपूmलाई प्रश्न गर्ने र कुनै पनि प्रकारको ‘भावनात्मक श्रम’ अनुभव गरिराखिएको छ भने सम्बन्धित निकायमा गएर यसबारे बोल्न जरुरी छ, अन्यन्था यसलाई ‘काम गर्ने वेला यस्तो अवस्था आइहाल्छ नि’ भनेर सबैले स्विकार गर्छन् । र त्यसको नकारात्मक प्रभाव शारिरीक र मानसिक स्वास्थ, पारिवारीक जीवन लगाएत सामाजिक र आर्थिक रुपमा समेत श्रमिक आफैले भोग्नु पर्ने हुन्छ ।

(लेखक स्टेट यूनिभर्सिटी अफ न्ययोर्क अमेरिकाबाट जनशक्ति विकासमा विशेषज्ञता हासिल गरी काठमाण्डौ विश्वविद्यालयबाट विकास अध्ययनमा विद्यावारिधि अध्ययन गर्दै हुनुहुन्छ |)-जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here