चीनमा प्रतिक्रान्तिका आधारहरू

59

–हुकुमबहादुर सिंह

 क. माओको निधनपछि चिनियाँ क्रान्तिमा प्रतिक्रान्ति भएको छ । त्यसैले चीन अब एउटा समाजवादी कम्युनिष्ट देश नभएर चिनियाँ ढाँचाको समाजवाद भन्दै यथार्थमा राज्यनियन्त्रित पुँजीवादी देश बन्न गएको छ । यो राज्यनियन्त्रित पुँजीवादअन्तरगत चीनले अकल्पनीय आर्थिक विकास त गर्न सफल भएको छ तर समाजवादी राज्यका अति आवश्यक अंशहरू भने क्रमसः हराउदै गएका छन् । राज्यमा श्रमिक वर्गको पहुच, पकड र स्वामित्व बाँकी रहेका छैनन् । चीन अव एउटा समाजवादी कम्युनिष्ट देश नभएर पुँजीवादी देश बन्न गएको छ र लेनीनको व्याख्या अनुसार यो क्रमसः नव साम्राज्यवादी देशको रूपमा अमेरिकी साम्राज्यवादलाई विस्थापित गर्ने अभियानमा लागेको छ । एशीया, अफ्रिका र लेटीन अमेरिकी देशहरूमा उसको पहुँच र पकड वलियो वन्दै गएको छ ।

यो सत्य हो चीनमा प्रतिक्रान्ति का.माओको निधन पश्चात भयो तर अहिलेको चीनमा जे जस्ता परिवर्तनहरु देखिएका छन्, त्यसको प्रक्रिया चिनियाँ कम्युनिष्ट पार्टीभित्र क.माओको समयदेखि नै चल्दै आएको माओको क्रान्तिकारी लाईन र ल्यू शाओ चि र देंग शियाओ पिंङको दक्षिणपन्थी पुँजीवादी लाईनका बीचको सङ्घर्षमा का.माओको निधन पश्चात ल्यू शाओ चि र देंग शियाओ पिंङको दक्षिणपन्थी पुँजीवादी लाईनको विजयको परिणाम हो । ल्यू शाओ चि र उसको लाईनका समर्थकहरुले माओको समयदेखि नै माओको क्रान्तिकारी लाईन र नीतिको विरोध गर्दै आएका थिए । क. माओको निधनपछि उनीहरू चीनमा प्रतिक्रान्ति गर्न सफल भएका छन् ।

 माओका क्रान्तिकारी लाईन र ल्यू शाओ चिको दक्षिणपन्थी लाईनका बीचको अन्तर वास्तवमा के थियो र अहिले कसरी ल्यू शाओ चिका चेला देंग शियाओ पिंङले चीनमा प्रतिक्रान्ति गर्न सफल भयो त्यसवारे स्पष्ट हुन आवश्यक छ । माओको नेतृत्वमा चलेको चिनियाँ कम्युनिष्ट पार्टीको क्रान्तिकारी लाईन अनुसार चीनमा समाजवादको अर्थ हुन्थ्यो – खेतीको सामूहिकीकरण, उद्योगहरुमाथि सार्वजनिक स्वामित्व आदि । यो नीति अन्तरगत पारिवारिक खेतीको सामूहिकीकरण गर्ने प्रक्रिया शुरु गरियो । राष्ट्रिय पुँजीपति वर्गका उद्योगहरु ‘बण्ड’ मार्फत किनिए । अन्य ब्यक्तिहरुलाई उद्योगहरुमा जागीर दिईयो । यसको असर त्यहाँको राष्ट्रिय पुँजीपति वर्गमाथि पनि पर्न गयो । ल्यू शाओ चिले आफ्नो दक्षिणपन्थी लाईनलाई अगाडि ल्याउन पारिवारिक खेतीको सामूहिकीकरण गर्ने प्रक्रियाले राष्ट्रिय पुँजीपति वर्गमा जन्माएको असन्तुष्टिलाई उपयोग गर्ने उपयुक्त समय भेट्टाए । किनभने जव चीनमा नयाँ जनवादी क्रान्ति भईरहेको थियो, त्यहाँको राष्ट्रिय पुँजीपति वर्ग  क्रान्तिको सहयोगी वर्गको रुपमा रहयो र साम्राज्यवादको पिछलग्गु भएन ।

ल्यू शाओ चि र उसको लाईनका समर्थकहरुले माओको खेतीको सामूहिकीकरण, उद्योगहरुमाथि सार्वजनिक स्वामित्व आदि नीतिको विरोध गरे । त्यसलाई रोक्न उनीहरुले भन्न थाले क्रान्तिको सहयोगी वर्गको रुपमा काम गरिरहेको चीनको राष्ट्रिय पुँजीपति वर्गको विरुद्ध छ भनेर अगाडि आए । चीन भरखरै एउटा अति पिछडिएको समाजवाट समाजवादी समाजतर्फ अगाडि बढने प्रक्रियामा लागेकोले चीन जस्तो पिछडिएको समाजमा भूमिसुधारको वाटोमा अनगिन्ति कठिनाईहरु थिए र यसलाई बढाउने वाटोमा थुप्रै समस्याहरु थिए । जबजब समस्याहरु र कठिनाईहरु अगाडि आईपर्थे तबतब ल्यू शाओ चि र उसको लाईनका समर्थकहरुले निर्माण भईरहेका संगठनहरुलाई आफनो न्वारनदेखिको वल र उर्जा लगाएर लोप पार्ने र सहकारी खेतीलाई तहसनहस पार्ने गर्दथे ।

जहाँसम्म माओले अपनाएको खेतीको सामूहिकीकरणको बाटो चीनियाँ किसानहरुको निम्ति उपयुक्त बाटो थियो । किनभने चीनियाँ किसानहरुको गरिवी, उनीहरुसँग भएको पुँजीको अभाव आदिले उनीहरुको मुक्तिको वाटो सामूहिकीकरण मै थियो । यसको निम्ति पनि उनीहरुले केहि सफलता हाँसिल गर्नु जरुरी थियो । त्यसको लागि उनीहरुको अगाडि मिलिजुली काम गर्नुवाहेक अन्य विकल्प थिएन । तर हरेक पाईलामा ल्यू शाओ चि र उसको लाईनका समर्थकहरुको शक्तिले वाधा–व्यवधान खडागर्ने र परिवर्तनलाई रोक्ने घेरै प्रयास गरे । पार्टी र सरकारका हरेक तहमा यो लडाई १९५० र १९६० को दशकसम्म चलिरहयो । ल्यू शाओ चि र उसको लाईनका समर्थकहरुको गलत चिन्तन र विचारमा परिवर्तन गर्न , उनीहरुको सोंचमा फेरवदल गर्न र सामूहिकीकरणलाई आफ्नो खुट्टामा उभ्याउनको निम्ति माओले कैयौ तरिकाहरु अपनाउन थाले । माओलाई थाहा थियो ल्यू शाओ चि र उसको लाईनका समर्थकहरुले अपनाएको वाटो पुँजीवादको वाटो थियो, त्यसैले माओले आफ्नै पार्टीभित्रका कमरेडहरु जो पार्टीमा शक्तिशाली थिए तर उनीहरुले समाजवादको निम्ति नभई पुँजीवादको वाटोलाई चीनमा पुनःस्थापित गर्न चाहन्थे । त्यसैकारण माओले पार्टीभित्रकै विधमान पुँजीवादीहरुको हेडक्वार्टर माथि आक्रमण गर्न र त्यसलाई ध्वस्त पार्न चिनीयाँ जनतालाई आव्हान गरेका थिए ।

साँस्कृतिक क्रान्तिको एउटा महत्वपूर्ण उद्देश्य  पुँजीवादको वाटो समातेकाहरुलाई पन्छाउनु थियो । तर माओको निम्ति त्यो त्यति सजिलो थिएन, किनभने पुँजीवादको वाटो समातेकाहरुको तल तलसम्म पनि समर्थन थियो । ल्यू शाओ चि त्यस समय पार्टीको संगठन विभाग प्रमुख थिए  र यसलेगर्दा पार्टी पंक्तिमाथि उनको नियन्त्रण थियो । यद्वेपि माओमा जनतालाइृ आकर्षित गर्ने, प्रेरित गर्ने र उद्वेलित गर्ने असिमित गुण र क्षेमता थियो । तर पनि, माओका कामहरुलाई कमजोर पार्नु र तोडमरोड गरेर जनतामा लैजानु ल्यू शाओ चिको निम्ति वाँयाँ हातको खेल थियो । किनभने संगठन विभाग प्रमुख भएकोले पार्टी पंक्तिमाथि उसको नियन्त्रण थियो । यसरी एकातिर संगठन विभाग प्रमुख ल्यू शाओ चि र उसको लाईनका समर्थकहरुको गलत चिन्तन र विचारले पार्टी पंक्तिमाथि उनीहरुको नियन्त्रण थियो भने अर्कोतीर त्यसलाई ध्वस्तपार्न थालिएको महान सर्वहारा साँस्कृतिक क्रान्तिका नायकहरु थिए, जो माओका कट्टर समर्थक त थिए, तर उनीहरुमा खासगरि त्यसवेलाको लिन पियाओ जस्ता नेताहरुमा उग्रवामपन्थी दुस्साहसवाद हावी थियो । चिनियाँ क्रान्तिको इतिहासमा क. माओले पार्टीमा देखिएका वामपन्थी दुस्साहसवाद र दक्षिणपन्थी लाईनका विरुद्धको सङ्घर्षमा काफि सफलता पाएको पाईन्छ । ल्यू शाओ चि जो दक्षिणपन्थी लाईनको प्रतिनिधित्व गर्दथ्यो, चीनमा गरिएको भुमिसुधारको कालमा उसले समेत उग्रवामपन्थी लाईनको पक्ष लिएको थियो । माओले यो लाईनलाई सच्चाउने काममा सफलता पाएका थिए ।

सर्वहारा साँस्कृतिक क्रान्तिको समयताका घेरै लेखकहरुको दावी के छ भने महान् सर्वहारा साँस्कृतिक क्रान्ति कालमा प्रशस्त उग्रवामपन्थी गल्तीहरु भएका थिए तर तिनीहरुको विरुद्ध कुनै उल्लेख्य जनअभियान चलाउन सकिएन भन्ने छ । लिन पियाओ जो एक वामपन्थी दुस्साहसवादी नेता थिए र उनले महान् सर्वहारा साँस्कृतिक क्रान्ति कालमा आफूलाई अतिवामपन्थीको रूपमा सबैको सामुन्ने उभ्याएका थिए र माओको कट्टर समर्थकको रूपमा परिचित थिए । त्यसैले मानिसहरु उनलाई कट्टर वामपन्थीको रूपमा र माओका कट्टर समर्थकको रूपमा चिन्दथे ।

अन्ततः लिन पियाओ सार रूपमा दक्षिणपन्थीको रूपमा सावित भयो । र, उसको त्यो कट्टर वामपन्थी र माओको कट्टर समर्थकको रूपले महान् सर्वहारा साँस्कृतिक क्रान्ति कालमा चीनियाँ क्रान्तिलाई काफी नोक्सान पु¥यायो । लिन पियाओको त्यो रूपलाई वेलैमा देंग र चेनले जो ल्यू शाओ चिको दक्षिणपन्थी लाईनको समर्थन गर्दथे, माओसँग गुनासोको रुपमा पेश गर्ने गरेका पनि थिए । तर, त्यसवेला माओले आफ्नो लडाईको केन्द्र भनेको दक्षिणपन्थ नै थियो र त्यसैले पनि उनको जोड ल्यू शाओ चिको दक्षिणपन्थी लाईनको विरुद्ध नै रहयो र पार्टीभित्र रहेका लिन पियाओ जस्ता अतिवामको विरोधमा कुनै अभियान चलाउन पट्टि ध्यान भएन ।

धेरैको मत आजपनि के पाइन्छ भने माओले ल्यू शाओ चिको दक्षिणपन्थी लाईनको विरुद्ध सशक्त अभियान चलाए जस्तै पार्टीभित्र रहेका लिन पियाओ जस्ता अतिवामको विरोधमा पनि कुनै अभियान चलाउन सकेको भए त्यसवेला त्यो निकै उचित कदम हुने थियो । तर माओलाई के थाह थियो भने देंग र चेन दुवै ल्यू शाओ चिको दक्षिणपन्थी लाईनको समर्थकहरु थिए । सायद त्यसैकारणले होला माओले उनीहरुले लिन पियाओ जस्ता अतिवामको विरोधमा गरेका गुनासोहरुलाई त्यति गम्भिर रुपले लिन आवश्यक ठानेनन ।

जे होस चीनमा भएको प्रतिक्रान्तिले विश्वका माक्र्सवादी लेनिनवादीहरुको निम्ति पार्टीभित्र चलाईने विभिन्न अवसरवादी लाईनको विरुद्धको सङ्घर्षलाई वेलैमा चिनेर र ज्यादै सचेततापूर्वक र होसियारीपूर्ण रूपमा चलाउनु पर्दछ भन्ने पाठ सिकाएको छ । यो पार्टीभित्रको निरन्तर प्रकृया हो । विश्व कम्युनिष्ट आन्दोलन वा नेपालकै पनि अनुभवले सिद्धगरेको तत्थ्य के हो भने वामपन्थी दुस्साहसवाद र दक्षिपन्थी अवसरवादको सुरुवात विन्दु र रूपमा फरक जस्तो देखिएता पनि सारमा दुवैको अन्तिमरूप दक्षिणपन्थी संशोधनवाद नै हो ।

चीनको पार्टी इतिहासमा लिन पियाओ वामपन्थी दुस्साहसवादको  नेता थियो र उसले महान् सर्वहारा साँस्कृतिक क्रान्ति कालमा आफूलाई अतिवामपन्थीको रूपमा सबैको सामुन्ने उभ्याएको थियो र ल्यू शाओ चि जो दक्षिणपन्थी लाईनको प्रतिनिधित्व गर्दथ्यो, चीनमा गरिएको भुमिसुधारको कालमा उसले समेत उग्रवामपन्थी लाईनको पक्ष लिएको थियो र माओले यो लाईनलाई सच्चाउने काममा सफलता पाएका थिए । यसरी पार्टी कार्यकर्ता र नेताहरुमा पनि यो अवसरवाद पेनडुलम घडिको सुई जस्तै कहिले दक्षिणतर्फ त कहिले वायाँतर्फ चलिरहेको थियो । कसैमा यो प्रवृतिगत समस्याको रूपमा रहेको थियो भने कसैमा यसले उसको चरित्रको रूप धारण गरिसकेको थियो । पार्टी र पार्टी नेतृत्वको काम वेलैमा उनीहरूलाई त्यसतर्फ जानबाट रोक्ने हो । जसको लागि माक्र्सवादी लेनिनवादीहरु आलोचना र आत्मआलोचनालाई उपयुक्त विधिको रूपमा प्रयोग गर्दछन । तर कैयौ नेताहरूमा आफ्नो आलोचनालाई मैत्रीपूर्ण रूपमा लिने भन्दा त्यसलाई बदलाको भावनाले पर्खने र लिने हुन्छ जो माक्र्सवादी लेनिनवादीहरूको निम्ति गलत हो ।

ल्यू शाओ चिको मृत्यु पछि देङ शियाओ पिङले ल्यू शाओ चिको दक्षिणपन्थी लाईनको नेतृत्व लियो र त्यसको हर्ताकर्ता भयो भने अर्कोतीर माओको मृत्युपछि उनको उत्तराधिकारीको रूपमा ह्वा कुओ फङको चयन गरियो । माओको उत्तराधिकारीको रूपमा ह्वा कुओ फङको चयन र ह्वा कुओ फङको मध्यपन्थी अवसरवादी चरित्र नै वास्तवमा देङ शियाओ पिङको दक्षिणपन्थी लाईनको प्रभावलाई बढाउन सहायक सिद्ध हुन गयो । चीनमा प्रतिक्रान्ति भयो र एउटा विशाल देश चीन जसको समाजवादी रूपान्तरणको सन्दर्भमा धेरै नै समृद्ध अनुभव थियो, त्यसले त्यसवेला कसरी आफ्नो रंग फेर्न सक्यो होला ? यो प्रश्नको उत्तर खोज्न र त्यसलाई भविश्यमा अन्य देशहरूमा क्रान्ति पछि प्रतिक्रान्ति दोहोरिनबाट जोगाउन जरूरी छ ।

एउटा जीवित पार्टीभित्र मतभेदहरू हुन्छन, ती मतभेदहरूको बेलैमा समाधान गर्न नखोजिएमा वा ती समाधानगर्न असफल भएमा त्यसको परिणाम प्रायजसो पार्टीमा विभाजन ल्याउने गरेको छ । ती मतभेदहरूको समाधानको निम्ति एउटा मार्ग सम्झौता हुन सक्ला तर सम्झौताले पार्टीमा बिभिन्न गुटहरूको अस्तित्व रहने सम्भावना रहन्छ र ती गुटहरूको पक्षमा पार्टीभित्र माथिदेखि तलसम्म सांगठनिक ढांचाको अस्तित्व पनि रहिरहने हुन्छ । तीनीहरूको बीचमा एउटा लामो लडाई पनि चलिरहने हुन्छ । यस्तो अवस्था चीनको कम्युनिष्ट पार्टीमा लामो समयसम्म चलि रहयो । त्यसको समाधानको निम्ति चीनमा महान सर्वहारा साँस्कृतिक क्रान्ति पनि चलाईयो तर देंङ जस्ता दक्षिणपन्थी संशोधनवादीहरूले त्यसबेलामा पनि आफूलाई पार्टी नेतृत्वमा जोगाई राख्न सफल भए ।

तर क.माओको निधन पछि लगत्तै कसरी उसले सजिलोगरि समाजवादी व्यबस्थाका सवै आधारहरू र चिनियाँ कम्युनिष्टले स्थापना गरेका सम्पूर्ण प्रक्रियाहरूलाई पल्टाउन सफल भयो ? यो प्रश्नपनि अति जरूरी छ र यसको कारणको पछाडि रहेको सत्य तत्थ्य खोजीगरि छलफलमा ल्याउनु आवश्यक छ । चीन अहिले आफ्नो समाजवादी वाटोलाई अग्रगमनतर्फ विकासगर्दै लैजानुको बदलामा उही पुरानो  पुँजीवादी वाटोतर्फको प्रतिगमनमा लागेको छ । समाजवादी क्रान्तिकारी मार्गलाई छोडि प्रतिक्रान्तिद्धारा पुँजीवादको पुनःस्थापना गर्न सफल भएको छ । यो के कारणले सफल भयो ? के यो साम्राज्यवादीहरू र पुँजीवादका समर्थकहरुले भनेझै माक्र्सवादको असफलता नै हो त ? निश्चित रूपमा सामान्य अर्थमा इतिहासमा धेरैजसो अगाडि बढनुको सट्टा पछाडि फर्कनु सजिलो हुने गर्दछ ।  तर माक्र्सवादी लेनिनवादी पार्टीमा अपनाईने जनवादी केन्द्रीयतालाई देंङले कसरी उपयोग गरेर चीनमा पुँजीवादको पुनःस्थापना गर्न सफल भयो, त्यसबारे अलिकति चर्चा गरिनु आवश्यक हुन्छ ।

पुँजीवादी पार्टीको तुलनामा कम्युनिष्ट पार्टिको शक्ति भनेको त्यसमा पाईने कडा तर स्वच्छिक अनुशासन हो र क. स्तालिनले यसलाई फलामे अनुशासन भनेका थिए । यो भनेको एउटा पार्टीभित्र आपसि मतभेदहरू हुन्छन, ती मतभेदहरू कायम राख्दै आम कार्यकर्ताहरू, नेताहरूले सँगसँगै काम गर्ने परम्परा हुन्छ । कार्यकताहरूलाई आफ्ना फरक विचारहरू र निर्णयहरूलाई आफैसँग सुरक्षित राख्दै माथिल्लो कमिटि –केन्द्रीय कमिटिको फैसलालाई मान्नका निम्ति प्रशिक्षित गरिएको हुन्छ ।

यदि कुनै विषय वा सवालमा  आफ्नो असहमति छ भने वा कुनै विषयमा आफ्नो विरोध छ भने त्यसलाई खुला रूपमा जनताको बीचमा लाने चलन हुँदैन, बरू पार्टीभित्रै सम्बन्धित पार्टी कमिटि मार्फत माथिल्लो कमिटि र आवश्यकता अनुसार तल्ला कमिटिहरूमा लैजाने चलन प्रचलित हुन्छ । यस्तो फलामे अनुशासनको आधार भनेको जनवादी केन्द्रीयता नै हो ।

देंङ घेरै नै चतुर थियो । उसले हुआ को फेंङका कमजोरीबाट धेरै फाईदा लिन सफल भयो । अनि उसले क्रमसः पार्टी केन्द्रमाथि कव्जा जमाउन सफल भयो । सेना माथि उसको वर्चश्व पहिलेदेखि नै कायम थियो । उसले आफ्नो पार्टी जीवनमा सधैभरि चीज वा विषयवस्तुलाई सानोस्तरवाट सुरू गर्ने गर्दथ्यो र त्यस्ता निर्णयहरू गर्दथ्यो जो घेरै नै व्यावहारिक देखिने गर्दथे । उस पहिले देखि नै ल्यु शाओ ची को पक्षमा काम गर्दथ्यो र त्यसकारण उ पनि सामूहिक खेती प्रणालीको विरुद्ध थियो तर यसलाई उसले सानो पैमानामा सुरू ग¥यो । उदाहरणको रूपमा सर्वप्रथम उसले यो काम दक्षिण चीनका पहाडी इलाकाहरूबाट सुरूगर्ने बिचार ग¥यो, किनभने प्रथमतः यी इलाकाहरूमा किसानहरूमा भएको सामुहिक खेतिप्रणाली चलाउने कुशलताको कमि थियो । दोस्रो त्यहाँ उनीहरूको वस्ती वसाई पनि छितरिएको र टाढा–टाढा वस्ने गर्दथे । यस्तो भौगोलिक कारण र किसानहरूमा सामुहिक खेतीप्रणाली सम्बन्धी कमि कमजोरिहरूलाई आधार वनाएर त्यस्ता संगठनमा उसले सामुहिक खेतीप्रणालीलाई तोडने क्रम सुरु ग¥यो ।

केहिले यसलाई ब्यावहारिक रूपमा स्विकार गरे , त्यसकारण त्यसको खासै विरोध भएन । यसपछि देङले यो प्रयासलाई ठूलो पैमानामा सुरु ग¥यो । देङ आफ्नो दक्षिणपन्थी नीतिमा दृढ थियो । त्यसैले उसले आफ्नो यो नीतिलाई कार्यान्वयन गर्न विभिन्न हथकण्डाहरू अपनायो । जस्तै (१)  सामुहिक खेतीप्रणालीलाई भङ्ग नगर्ने मानिसहरूलाई पार्टीबाट निस्कासन गर्ने, (२) सामुहिक खेतीलाई ऋण नदिने, (३) व्यक्तिगत खेतीगर्ने किसानलाई ऋण दिने आदि । साथै राम्रो उर्वर जमिनको खोजीको क्रममा यदि कुनै व्यक्तिगत खेतीगर्ने किसानहरूले सामुहिक खेतीको जमिनमाथि कब्जा जमाएभने, त्यो मुद्दा अदालतमा गयो भने न्यायाधिशहरूले व्यक्तिगत खेतीगर्ने किसानहरूको पक्षमा फैसला गर्दथे । सामुहिक खेतीलाई भङ्ग गर्न र व्यक्तिगत खेतीगर्ने किसानहरूलाई मजवूत वनाउन त्याहाँ कुनैपनि कसर वाँकि राखिएन ।

यसरी चीनियाँ क्रान्तिमा प्रतिक्रान्ति हुनमा चीनियाँ कम्युनिष्ट पार्टिमा घुसेका ल्यु शाओ ची र देङ शियाओ पिङजस्ता दक्षिणपन्थी संशोधनवादीहरूको महत्वपूर्ण भूमिकाको साथै अति वामपक्षको भूमिका र त्यसका विरुद्धको सङ्घर्षमा कम ध्यान र सङ्घर्षको प्रकृयाका वारेमा पनि गलत तौरतरिकाहरु जिम्मेवार छन । खासगरि लिन पियाओले लिएको अतिवामपन्थी लाईनलाइृ वेलैमा चिन्न नसक्नुले पनि चीनमा प्रतिक्रान्तिका लागि महत्वपूर्ण आधार वनाएको छ । अन्त्यमा माओको मृत्युपछि माओको उत्तराधिकारीको रूपमा ह्वा कुओ फङको चयन र उसको मध्यपन्थी अवसरवादी चरित्र नै वास्तवमा देङ शियाओ पिङको दक्षिणपन्थी लाईनलाई चीनमा स्थापित गर्न सहायक सिद्ध हुन गयो ।-जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here