राजेन्द्र लिङदेनको विजय र उनको लोकप्रियताले दिएको सन्देश !

58

— निमकान्त पाण्डे

राष्ट्रिय प्रजातन्त्र पार्टीमा मुख्य नेतृत्व परिर्वतन भएको छ । राजसंस्थाको विघटन पछि कमल थापा नै राप्रपाको अध्यक्षको रुपमा अनवरत छाइरहे । राजसंस्थाको  ओकालत गर्दै र हिन्दू राष्ट्रको नारा बोक्दै कमल थापाले राप्रपाको मालिक आफुनै हो भन्ने शैलीमा काम गर्दै आए । कमल थापालाई गणतन्त्र पनि फाप्यो । उनी गणतन्त्रामक व्यवस्थामा पनि उपप्रधानमन्त्रीको हैसियतमा काम गर्ने अवसर पाए पछि उनलाराजनीतिकई राजसंस्थाको आवश्यकता महसुस हुने कुरै भएन । राजसंस्था रहुनञ्जेलसम्म गृहमन्त्रीसम्मको हैसियतमा रहेर काम गर्न पाएका कमल थापा राजसंस्थाको विघटन पछि उपप्रधानमन्त्री नै बनेपछि गणतन्त्र उनको प्यारो व्यवस्था हुने नै भयो । राजतन्त्रमा राजाको आशिर्वाद नपाएका व्यक्तिहरु विरलै पदीय हैसियतमा पुग्ने गर्दथे । तर गणतन्त्रमा राजाको आशिर्वाद आवश्यक नहुने भएकाले कमल थापाको आशिर्वाद प्राप्त गर्ने बाटो पनि बदलियो ।

देशमा गणतन्त्र आएको पनि १५ बर्ष पुगिसकेको छ । गणतन्त्रमा पदीय हैसियत प्राप्त गर्न कसको आशिर्वाद पाउनु पर्छ भन्ने  स्पष्ट भइसकेको छ । छिमेकी देश भारतका शासकलाई खुशी नबनाउँदासम्म नेपालको प्रधानमन्त्री वा मन्त्री बन्न मुश्किलै पर्ने अवस्था विकसित भएको छ । छिमेकी देशका शासकहरुलाई खुशी बनाउन चाकडी आवश्यक पर्दैन । देशको कुनै प्राकृतिक स्रोत जिम्मा लगाइदिएपछि । छिमेकी देशका शासक प्रफुल्ल भइहाल्छन् र नेपाली जनताको शासक बन्ने अधिकार नेपालका राजनीतिक दलका नेताहरुले पाउने गरेका छन् । यसका निम्ति नेपालका नेताहरुमा प्रतिस्पर्धा नै चलिरहेको देखिन्छ । नेपाली जनताको हितमा काम गरेर र नेपाल राष्ट्रको हितमा काम गरेर नेपाली जनताको लोकप्रिया शासक बन्ने परम्परा नेपालमा छैन । जगंबहादुर राणाको शासनदेखि नै  विदेशीलाई रिझाएर नेपालको शासक बन्ने परम्परा चल्दै आएको छ । जहाँनिया राणा शासन हुँदै शाहबशीय  शासन र गणतन्त्रसम्म पनि विदेशी रिझाउने परम्पराले निरन्तरता पाइरहेको छ । यो अवस्थाबाट देशले मुक्ति पाउने सम्भावना देखिदैन । नजिकका छिमेकी मात्र नभएर अव धेरै टाढाका छिमेकीसमेत रिझाएर नेपालको शासक बन्ने परम्परा सुरु भएको छ । त्यसैको फलस्वरुप अमेरिकाको एमसीसी सम्झौता नेपालमा लागू गर्न नेपालका संसदवादी राजनीतिक दलका नेताहरु लम्पसार परिरहेका छन् ।

तर समयले कोल्टे फेर्ने संकेत भएको छ । राजनीतिक दर्शन र सिद्धान्तका कुरा गरेर विदेशी शक्तिको दलाली गर्ने नेताहरुका चरित्रले गर्दा नेपाली जनता अव गम्भीर अवस्थातर्पm धकेलिएको संकेत हुन्छ । २ सय ४० वर्षसम्म शासन गरेको राजसंस्था हटाउन नेपाली जनताले ठूलो बलिदानी गरेका छन् । तर त्यो राजतन्त्रको लामो इतिहासका नकारात्मक पक्षहरुलाई विर्साउने गरी नेपालका संसदवादी गणतन्त्रवादी राजनीतिक दलका नेताहरुले जनतालाई विरक्त बनाएका छन् । नेपाली जनतामा राष्ट्रियताको भावना बलियो छ भन्ने कुरा नेताहरुले बिर्सिदिएका छन् । नेपाल राष्ट्र निर्माणका लागि नेपाली जनताले गरेको योगदानको अवमुल्यन भइरहेको छ । यो राष्ट्रलाई बिखण्डन गराउने र यसको अस्तित्व नै समाप्त पार्ने विदेशीहरुको षड्यन्त्रमा सिद्धान्तनिष्ठ भनिएका नेताहरु प्रयोग भइरहेका दृश्यहरुले जनतालाई झस्काएको छ । यही कारणले गर्दा जनता अव राजावादी भनेर राजेन्द्र लिङदेन जस्ता व्यक्तिलाई अस्विकार गर्ने पक्षमा देखिदैन । नेपाली कांग्रेसको १४ महाधिवेशनमा लिङदेनको अभिव्यक्तिलाई उपस्थित जनसमूहले समर्थन जनाएको कारण पनि यही हो ।

धेरै समय बितेको छैन राजेन्द्र लिङदेन राप्रपाका अध्यक्षमा निर्वाचित भएको । राजनीतिक प्रभावका हिसाबले बिस्तारै सिथिल हुँदै गएको राप्रपा जस्तो दलको समर्थनमा जनताको लहर सृजना हुने संकेत त्यसक्रममा भयो,  जुन बेला राजेन्द्र लिङदेनले नेताहरुलाई जनताले चोर भन्न थाले भन्ने चिन्ता व्यक्त गर्दा प्रचण्डले त्यसको प्रतिवाद गर्दै राजेन्द्र लिङदेनको अभिव्यक्ति गलत भएको दावी गर्दा जनस्तरबाट प्रचण्ड बिरुद्ध चर्को हुटिङ हुन पुग्यो । यो अवस्थाले गरेको संकेत के हो ? १० वर्षसम्म आमूल रुपान्तरणको लागि जनतालाई सशस्त्र संघर्षमा उत्प्रेरित गराएका प्रचण्डले पाएको सम्मान कुन अवस्थामा पुगेको रहेछ भन्ने कुरा त्यस दिनको प्रचण्ड बिरुद्धको हुटिङले स्पष्ट गरेको छ । प्रचण्ड युद्धकालमा जति लोकप्रिय थिए, त्यो भन्दा बढि लोकप्रिय शान्ति प्रकृयामा आएपछि भएका थिए । राजावादीको कित्तामा राजनीति गर्दै आएका धेरै जसो नेताहरु प्रचण्डको नेतृत्व स्वीकार्दै तत्कालीन नेकपा (माओवादी) मा प्रवेशको लहर चलेको थियो । पूर्वसिडिओहरु, पूर्वअञ्चालाधीशहरु, पूर्व राष्ट्रिय पञ्चायत सदस्यहरु र पूर्वमन्त्रीहरुसमेत नेकपा माओवादीमा प्रवेशको लहर चलेको थियो । प्रचण्डले केही गर्छन भन्ने विश्वास जागेको थियो । आजको अवस्था के छ ? नेपाली कांग्रेसको १४ महाधिवेशनमा उपस्थित जन समूहले प्रचण्डलाई ‘चोर’ भनेबाटै स्पष्ट हुन्छ ।

पछिल्लो डेढ दशकको उपलब्धि संस्थागत हुँदै हुँदैजाँदा प्रभावहीन जस्तै बन्नपुगेको राप्रपा एकाएक किन चर्चाको शिखरमा पुगेको छ ? यो प्रश्न संसदीय राजनीतिक दलका नेताहरुले बुझ्न जरुरी छ । जनताको आवाज बोल्न आवश्यक छ । देशको अवस्था बुझ्न आवश्यक छ । बुझेर मात्र हुँदैन, बोलेर मात्र हुँदैन, गरेर देखाउनु पर्छ भन्ने जनताको आवाज हो । नेताहरु ‘चोर’ नभएका भए भ्रष्टाचारीहरु दण्डित  हुनुपर्दथ्यो । नेताहरुको संरक्षणमा भ्रष्टाचारीहरु सलबलाइरहेका छन् । त्यसैले ‘चोर’ मालिकहरु ‘चोर’ हुन भन्ने जनताको निर्णय राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले बोलेपछि उनलाई जनताको हुनु स्वाभाविक हो । लिङ्देनप्रतिको  यो जनसमर्थनले उनीप्रति उनको नेतृत्व नेपाली कांग्रेसको अनुमोदित भएको संकेत गरेको छ ।

कमल थापाले नेकपा एमालेको  १० महाधिवेशनमा सम्बोधन गर्दा केपी ओलीको साढे तीन बर्षे शासनकालको खुलेर प्रंशसा गरेका थिए । सर्वाधिक अलोकप्रिय बनेका प्रधानमन्त्री मात्र नभएर एसियाली मुलुकमै सर्वाधिक भ्रष्टाचारी सरकारको प्रशंसामा कमल थापाले गरेको ओलीको चाकडीको पुरस्कार कमल थापाले पाएका छन् । धेरै समय लागेन यस्तो पुरस्कार पाउन उनलाई । दुई हप्ताभित्रै राप्रपाको नेतृत्वबाट अलग गरिदिएका छन् जनताले । संसदवादी  दलका नेताहरुले देश र जनताको आवश्यकतालाई संबोधन गर्न सकेनन् भने राजतन्त्र र हिन्दू राष्ट्रको नारा बोकेका भए पनि राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले जनताको समर्थन प्राप्त गर्ने मार्ग अवलम्बन गरिरहेका छन्  भन्ने संकेत भइसकेको छ, आगे संसदवादी नेताहरुलाई चेतना भया !  —जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here