काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा आफ्नो हार र पराजय स्वीकार गरिसकेको बताएका छन्। नेकपा एकीकृत समाजवादी काठमाडौं महानगर कमिटीद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
‘आज तपाईंहरुले केपी ओलीको एउटा भाषण सुन्नुभयो होला। भाषणमा उनले राष्ट्रिय सभाको निर्वाचनमा हाम्रो पराजय निश्चित छ भनेर भने। हार स्वीकार गरेका छन्। पराजय स्वीकार गरेका छन्,’ नेपालले भने, ‘तर, कसरी स्वीकार गरे होलान, त्यो दम्भी स्वभावले त दिँदैन।’
ओलीले एकैदिन ७७ वटै जिल्लामा अधिवेशन उद्घाटन गर्ने परिपाटीले नेतृत्व स्थापित नहुने पनि नेपालले टिप्पणी गरे। ‘त्यहाँ कुनै नीति पद्धति छैन। नेताको देवत्वकरण गर्ने, देउता जस्तो मान्ने। देवत्वकरण भइसकेपछि त्यो देउताको वरिपरी पूजक र भजनमण्डली मात्रै बस्ने प्रवृति छ,’ उनले भने, ‘त्यहाँ सिद्धान्तनिष्ठ कार्यकर्ता, आलोचनात्मक चेत, विश्लेषण गर्ने, सही र गलत छट्टाउन सक्ने मानिसहरु नै छैनन्। त्यहाँका मानिस वौद्धिकताको विकास गर्ने आधुनिक ज्ञान र चेतना हासिल गर्ने व्यक्ति होइनन्। पूजक र हनुमान प्रवृति, अझ भन्दा गणेश प्रवृति भएकालाई मात्रै ठाउँ छ। त्यसैले त्यो समूह भित्र विद्रोह भइरहेको छ।’
नेपालले आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि बताए।
‘निरकुंश सत्तालाई हिजो पनि चुनौती दिएका थियौं। अहिले पनि पार्टी कब्जा गर्नेको पार्टी सत्ता र सरकार कब्जा गरेको सरकारी सत्तालाई हटाएका छौं,’ उनले भने, ‘कम्युनिस्ट नामधारी नेकपा एमाले नेताको रुपमा आफूले मनपरी गर्नका लागि पूरै छुट पाउनुपर्छ भन्ने अत्यन्तै दम्भी पाराका मानिसबाट विद्रोह गरेर नयाँ धार निर्माण गरेका छौं।’
ओलीले सरकारमा हुँदा पार्टीमा लोकतान्त्रिक मूल्यमान्यतालाई धुजाधुजा पारेकापछि विद्रोह भएको नेपालको भनाइ छ।


















