ललितपुर महानगरले निःशुल्क सेवा दिने गरी विद्युतीय सवारीसाधन सञ्चालन गर्ने

176

ललितपुर । ललितपुर महानगरपालिकाले पर्यटक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई निःशुल्क सेवा दिने गरी विद्युतीय सवारीसाधन सञ्चालन गर्ने भएको छ । अन्य व्यक्तिका लागि भने सःशुल्क सेवा प्रदान गरिने भएको छ ।

“ललितपुर महानगरपालिकाले साझा यातायातसँग समन्वय गरेर विद्युतीय सवारीसाधन सञ्चालन गर्नेछ”, महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भने, “स्थानीय तहले विद्युतीय बस सञ्चालन गर्नेमा ललितपुर महानगरपालिका पहिलो स्थानीय सरकार हुनेछ ।”

प्रारम्भिक चरणमा चारवटा विद्युतीय सवारीसाधन सञ्चालन गर्न लागिएको ललितपुर महानगरपालिकाले जनाएको छ । आवश्यकताका आधारमा अरू छवटा विद्युतीय सवारीसाधन थप्ने महर्जनले जानकारी दिए । करिब एक महिनापछि महानगरपालिकाले विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ ।

उनका अनुसार अहिले ललितपुर क्षेत्रमा आउने अधिकांश पर्यटकको बसाइ आधा वा एक दिन मात्र हुने गरेको छ । विद्युतीय सवारीसाधन सञ्चालन गरी पर्यटकलाई निःशुल्क सेवा प्रदान गरिएपछि महानगरपालिकाले कम्तीमा पर्यटकलाई तीन दिनको प्याकेज बनाउने योजना बनाएको छ ।

त्यसपछि उक्त प्याकेजअन्तर्गत ललितपुरको पुल्चोक, पाटन दरबार क्षेत्र, लगनखेल, जावलाखेललगायतका क्षेत्रमा पर्यटकलाई विद्युतीय सवारीसाधनबाट निःशुल्क भ्रमण गराउने योजना महानगरपालिकाले बनाएको छ ।

पुल्चोकस्थित महानगरपालिकाको प्राङ्गणबाट पाटन दरबार क्षेत्र, लगनखेल, कुपन्डोल सानेपा, धोबीघाट जावलाखेललगायतका रुटमा महानगरपालिकाले विद्युतीय सवारीसाधन सञ्चालन गर्नेछ । उक्त सवारीसाधन खरिद गर्न करिब तीन करोड रुपियाँ लागत लाग्ने महानगरपालिकाको अनुमान रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here