शेयर धितो कर्जा घट्न थाले

44

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूका लागि कर्जा प्रवाहको आकर्षक क्षेत्र मानिएको शेयर धितो कर्जा घट्न थालेको छ । शेयर धितो कर्जालाई कडाइ गर्ने नेपाल राष्ट्र बैंकको नीति र कम्पनीहरूको बजारमूल्य समेत ओरालो लागेपछि बैंकहरूको कर्जा प्रवाह घट्न थालेको हो ।

राष्ट्र बैंकले चालू आर्थिक वर्ष ९आव०को मौद्रिक नीतिबाट शेयर धितो कर्जामा पहिलोपटक प्रतिग्राहक ऋणमा सीमा निर्धारण गरेको थियो । यसैगरी दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कम्पनीहरूको मूल्य घटेको छ । यस कारण बैंकहरूले शेयर धितो कर्जा घटाउँदै लगेका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूले २०७८ साउनमा १ खर्ब ८ अर्ब ५६ करोड रुपैयाँ शेयर धितोमा कर्जा प्रवाह गरेकोमा मङ्सिरसम्ममा करीब ८ अर्ब रुपैयाँले घटेर १ खर्ब ६३ करोड रुपैयाँमा झरेको छ । एउटै ऋणीलाई धेरै कर्जा प्रवाहमा निरुत्साहित गरेका कारण सानो आकारको कर्जा लगानी भने वृद्धि भएको छ । बैंकहरूले साउनमा २५ लाखभन्दा कम ऋण लिनेहरूलाई ७ अर्ब ८६ करोड रुपैयाँ प्रवाह गरेकोमा मङ्सिरमा बढेर ८ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।

२०७७ मङ्सिरसम्मको तुलनामा २०७८ मङ्सिरसम्ममा समग्र शेयर धितो कर्जा ५ दशमलव ३ प्रतिशतले घट्दा १ करोडभन्दा बढीको कर्जा भने १३ दशमलव १ प्रतिशतले घटेको छ । तर, ५० लाखदेखि १ करोडसम्मको कर्जा १० दशमलव ६ प्रतिशत, २५ लाखदेखि ५० लाखसम्मको कर्जा १० दशमलव १ प्रतिशत र २५ लाख रुपैयाँभन्दा कमको कर्जा १८ दशमलव ६ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here