– राज्यलक्ष्मी शाक्य
कोरोना संक्रमण बढ्ने क्रम जारी छ । संक्रमण बढेसँगै सबै क्षेत्र अस्तब्यस्त भैरहेका छन् । कारागार कार्यालयमा उच्च सतर्कता अपनाइएको छ । भरतपुर स्थित कारागार प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको खबर राससले नै प्रकाशन गरेको छ ।
कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भएर बन्द गरिएको हो । क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा समस्या आउने भन्दै उनले कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार बन्द गरिएको जानकारी दिए। सार्वजनिकस्थलमा स्थानीय प्रशासनले २५ जना भन्दा बढी जमघट र भेला हुन रोक लगाएको छ ।
उनले भने, ‘जोखिम बढेसँगै कैदीबन्दीका आफन्तहरूसँग भेटघाटमा रोक लगाएका छौ ।’ कारागार कार्यालयले बाहिरबाट ल्याईएका कैदीबन्दीको कोरोना परीक्षण नगरी नबुझ्ने गरेको उनले बताए। उनले भने, ‘पिसिआर परिक्षणको रिपोर्ट नभएसम्म कैदीबन्दी हामी बुझ्दैनौ ।”
कारागार कार्यालयमा रहेका एक जना कैदीको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै उच्च सावधानी अपनाइएको उनले बताए।
कारागार प्रशासनले बाहिरबाट नयाँ आएका कैदीबन्दीलाई र अस्पताल लग्नुपर्ने कैदीबन्दीलाई छुट्टै क्वारेन्टिनको समेत व्यवस्था गरेको छ ।
३० जनाको क्षमता रहेको क्वारेन्टिको व्यवस्था गरिएको उनले बताए। जहाँ नयाँ आएका र बिरामीलाई छुट्टै राख्ने गरिन्छ ।
उनले भने, ‘दुई कोठालाई क्वारेन्टिनको रूपमा प्रयोग गरिएको छ ।” अहिले क्वारेन्टिनमा १३ कैदीबन्दी रहेका छन् । बाहिरबाट कारागारमा थपिने कैदीबन्दीको सङ्ख्या बढ्दै जाँदा यसलाई थप गर्न सकिने काफ्लेको भनाइ छ । २५ जना महिला र २५५ पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको यस कारागारमा अहिले ७१२ जना रहेका छन् ।
जसमध्ये ४४५ कैदी तथा २५८ बन्दी छन् । कारागारमा रहेका मध्ये ५० महिला र ६६२ पुरुष हुन् । उनीहरूसँगै दुई आश्रित बालिका छन् । कारागार कार्यालय भरतपुरमा विभिन्न २० मुद्दाका कैदीबन्दी रहेको काफ्लेले जानकारी दिए।
कोरोना कहरबीच नेपाल नर्सिङ काउन्सिलले एक जना नर्सलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको छ। काउन्सिलले लाइसेन्स जारी भएको साढे सात वर्षपछि एक जना नर्स नक्कली भएको फेला पारेको हो।
काउन्सिलको लाइसेन्स पुन दर्ताका लागि निवेदन दिएकी रञ्जुकुमारी चौधरीको कागजपत्र अध्ययनका क्रममा काउन्सिलले उनले अर्कैको नाममा रहेको दर्ता नम्बर लिएको पत्ता लगाएको हो। चौधरीले अर्कैको लाइसेन्स नम्बर आफ्नो बनाई दुरूपयोग गरेको फेला परेपछि काउन्सिलले कारबाही प्रक्रिया अघि बढाएको छ।
काउन्सिलका अनुसार शम्भुनाथ नगरपालिका ६ सप्तरीकी रञ्जुकुमारी चौधरीले ६ जुलाई २०१४ मा नर्सको लाइसेन्स लिएको भन्दै काउन्सिलमा पुनः नाम दर्ता अर्थात नविकरणका लागि कागजपत्र पेश गरेकी थिइन्। चौधरीले आफ्नो लाइसेन्स नम्बर २६४६८ रहेको विवरण काउन्सिलमा पेश गरेकी थिइन्।
काउन्सिलले उनको नविकरणको प्रक्रिया अगाडि बढाउने क्रममा उक्त नम्बरमा अर्कैको नाम रहेको पत्ता लगायो।त्यसपछि आवश्यक कागजपत्र अध्ययन गर्दा चौधरीले अर्कैको नम्बर राखेको पत्ता लागेको काउन्सिलले जनाएको छ। चौधरी नक्कली नर्स भएको पत्ता लागेपछि काउन्सिलले सार्वजनिक सूचना निकाल्दै उनी दर्तावाल नर्स नभएको र कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ।
यसैबीच कोरोना कहरको फाईदा उठाउँदै मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउपर्नेमा मेचीनगर–६ काँकरभिट्टाका रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताए। प्रहरीले कार्यालयबाट नक्कली रिपोर्ट बनाउने दुई थान ल्यापटप, एक थान प्रिन्टरसमेत बरामद गरेको छ।
सञ्चालक तामाङले प्रयोग गरेको ल्यापटपमा इमेल जाँच गर्दा मेची प्रादेशिक अस्पताल भद्रपुर, कनकाई पिसिआर ल्याब, विएण्डसी अस्पताल, नेसनल पब्लिक हेल्थ ल्याब टेकु काठमाडौँलगायतका अफिसियल लेटर प्याडलाई डिजिटल स्क्यान गरी पीसीआर रिपोर्टमा कोरोना नेगेटिभ लेखेर राखिएको फायलसमेत फेला परेको प्रवक्ता पाठकले जनाएका छन् ।
त्यसैगरी अनुसन्धानका क्रममा तामाङले नेपालको निशाना छाप एवं विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय (नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजश्व कार्यालय भद्रपुरलगायतको छापलाई डिजिटल स्क्यान गरी सम्पादन गरेर राखिएको पाइएको उनको भनाइ छ। जनधारणा साप्ताहिकबाट


















