-हुकुमबहादुर सिंह
नेपालको संसदमा प्रतिनिधित्व गरिरहेका कम्युनिस्टहरुले समाजवादका कुरा गरीरहेका छन्, र संसदीय व्यवस्थाका विरुद्ध खडा भएका कम्युनिस्टहरुले पनि नेपालमा समाजवाद ल्याउने कुरा गरीरहेका छन् । संसदीय व्यवस्थाका विरुद्ध खडा भएका कम्युनिस्टहरुबीचमा पनि नेपालमा समाजवाद ल्याउने कुरामा काफी मतभेदहरु देखिएका छन्, यद्धपि तिनीहरु सबैले समाजवाद भन्नाले वैज्ञानिक समाजवाद भनेका छन् ।
यसरी संसदीय व्यवस्थाका विरुद्ध खडा भएका कम्युनिस्टहरुबीचमा वैज्ञानिक समाजवाद भन्ने छ तर यो कसरी प्राप्त गर्ने भन्नेवारेमा काफी मतभेद देखिएको छ । एकथरी नेपालमा वैज्ञानिक समाजवादको स्थापना जनमत संग्रहव्दारा ल्याउने कुरा गरेको पाइन्छ भने अन्यले सशस्त्र जनविद्रोह वा दृघकालिन जनयुद्धव्दारा नेपालमा नयाँ जनवादी क्रान्ति सम्पनन गरी समाजवादतर्फ जाने कुरा गरेका छन् ।
यसरी नेपालमा समाजवाद स्थापनाको सवालमा कम्युनिस्टहरु बीचमा र जनस्तरमा पनि काफी भ्रम उत्पन्न भएको छ । त्यसैले विश्वमा आजसम्म स्थापित समाजवादी क्रान्तिहरुका पाठहरुको एक पटक समिक्षा र सिंहावलोकनको उत्तिकै महत्व रहेको छ ।
के वास्तविकता हो भने विश्व सर्वहारा क्रान्तिव्दारा समाजवादी देशहरुको स्थापना जुन जुन देशहरुमा गरिएको छ, ती सबैमा सशस्त्र संघर्षव्दारा भएको वास्तविकता हो । विश्व इतिहासमा सशस्त्र संघर्ष विना कही कतै समाजवादी देशहरुको स्थापना भएको एउटा पनि उदाहरण छैन । दोस्रो विश्वयुद्ध पछि चीनदेखि क्युवासम्मका सफल सर्वहारा क्रान्तिलाई मूल्याङकन र समिक्षा गर्दा. हिंसात्मक क्रान्ति सर्वहारा क्रान्तिको शाश्वत नियम बन्न गएको छ । हिंसात्मक क्रान्तिविना समाजवादको स्थापनाका कुरा भ्रम सिवाय केही होइन । समाजवादमा संक्रमणका लागि सर्वहारावर्गले पुरानो राजकीय संरचनालाई चकनाचुर पारिदिनु पर्दछ र सर्वहारा अधिनायकत्वको स्थापना गर्नु पर्दछ, जसका निम्ति सर्वहारावर्गको आफ्नो सेना हुनु आवश्यक पर्दछ । किनभने सर्वहारावर्गले पुरानो राजकीय संरचनालाई चकनाचुर पार्न र सर्वहारा अधिनायकत्वको स्थापना गर्न सशस्त्र संघर्ष अनिवार्य हुन्छ ।
फेरी विश्व साम्राज्यवाद खासगरी अमेरिकी साम्राज्यवाद सबै देशहरुमा गरिने जनक्रान्तिको घोर शत्रु हो । त्यसैले सर्वहारावर्गले अन्तराष्ट्रिय स्तरमा अमेरिकी साम्राज्यवाद विरुद्ध आफ्नो विरोधको झण्डा नफहराई र आफ्नो देशभित्रका अमेरिकी साम्राज्यवादका पाल्तु कुकुरहरुका विरुद्ध दृढ प्रतिवद्धताका साथ संघर्ष गर्ने आँट नगरी देशमा वैज्ञानिक समाजवादको कल्पना केवल कल्पना मात्रै रहन्छ ।
त्यसैले उत्पीडित राष्ट्रहरुको क्रान्ति सर्वहारा क्रान्तिको अभिन्न अंग बन्न गएको हो । सारा संसारका मजदुर एकतावद्ध भएर मात्रै यो महान जिम्मेवारी पुरा गर्न सकिन्छ । जसका लागि सर्वहारा वर्गले अन्तराष्ट्रिय रुपमा व्यापक अन्तराष्ट्रिय संयुक्त मोर्चा बनाउनका लागि सबै उत्पीडित राष्ट्रहरुसँग तथा साम्राज्यवाद र त्यसका पाल्तु कुकुरहरुको विरोध गर्ने सबै शक्तिहरुसँग संयुक्त मोचाको निर्माण गर्नु अनिवार्य शर्त हुन्छ ।
देशभित्र सरकार, संशद र सत्तामा रहेका साम्राज्यवाद र त्यसका पाल्तु कुकुरहरुको विरुद्ध सर्वहारावर्गको सबैभन्दा विश्वसनीय मित्रवर्ग किसानमाथि पक्का भरोसा राखेर मजदुर—किसान एकताका आधारमा साम्राज्यवाद र त्यसका पाल्तु कुकुरहरुको विरुद्ध व्यापक संयुक्त मोर्चाको निर्माण अनिवार्य बन्न जान्छ । यसका लागि क्रान्तिको नेतृत्वगर्ने सर्वहारावर्गको पार्टी कम्युनिस्ट पार्टीको नेतृत्वले क्रान्तिमा अविचलितरुपमा दृढ भएर अगाडि बढनु अति जरुरी र आवश्यकता पर्दछ ।
यसकारण देशमा नककली समाजवादीहरुका अनेकौ भ्रमजालहरुलाई च्यात्दै क्रान्तिलाई अगाडि बढाउनका लागि देशमा एउटा क्रान्तिकारी पाटीको आवश्यकता पर्दछ । जुन पार्टी माक्र्सवादी—लेनिनवादी—माओवादी क्रान्तिकारी सिद्धान्त र कार्यशैली अनुरुप स्थापित होस । यस्तो क्रान्तिकारी पार्टीविना सर्वहारा क्रान्तिको र सर्वहारा अधिनायकत्वको विजय असम्भव छ । त्यो पार्टी जसले संशोधनवाद र विभिन्न खाले अवसरवादसित सम्झौतापरस्त नभई सम्झौहीन संघर्ष गर्नु पर्दछ र त्यसले हरेक खालका प्रतिक्रियावादी शासकवर्ग र उनीहरुको राज्यसत्ताप्रति हरसमय क्रान्तिकारी दृष्टिकोण अपनाउनुपर्दछ ।
संशदमा भाग लिएर, संशदमा रहेका अन्य पार्टीहरुसँग तालमेल गरेर साम्राज्यवादी शक्तिहरु र उनीहरुका पिछलग्गु राजनीतिक दलहरुसँग मित्रतापूर्ण सम्वन्ध स्थापित गरेर सर्वहारा क्रान्ति न विगतमा सम्भव रहयो न भविश्यमा सम्भव हुनेछ । समग्र संशदीय व्यवस्थाको अन्तय नै वैज्ञानिक समाजवादको स्थापना अनिवार्य शर्त हो ।
त्यसैले दोस्रो विश्वयुद्धपछि अहिलेसम्मको सर्वहारावर्गीय पार्टीहरुको सम्पूर्ण इतिहासबाट के कुरा स्पष्ट हुन्छ भने सफल क्रान्तिका लागि निम्न तीन महत्वपूर्ण कुराहरुको आवश्यकता पर्दछः प्रथम क्रान्तिको सही कार्यदिशा अनुशरण गर्ने, दोस्रो त्यसको प्राप्तीका लागि सही रणनीति र कार्यनीति अंगाल्ने र तेस्रो क्रान्तिकारी संघर्षमा जनताको नेतृत्वगर्ने ।
मथि उल्लेखित यी तीन चीजहरुको समग्र जोडव्दारा एउटा कम्युनिस्ट पार्टीले मात्रै देशमा वैज्ञानिक समाजवादको स्थापना गर्न सफल देखिएका छन् र वर्तमानका लागि पनि यही सत्य हो । संशदीय व्यवस्थावाट, जनमत संग्रहबाट वा अन्य कुनै शान्तिपूर्ण मार्ग अपनाएर नेपालमा वैज्ञानिक समाजवादको कल्पना केवल क्रान्तिलाई जतिसक्यो पर धकेल्ने र अमेरिकी साम्राज्वाद र उसका भक्त दलाल पुँजीपति वर्गको सेवा गर्ने नै हो । -जनधारणा साप्ताहिकबाट


















