बारा । सिम्रौनगढ नगरपालिका–२ बाट मंगलबार राति २ लाख ९६ हजार नक्कली नेपाली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका–७ पिपरीयाका युवक किशोरी साह छन् ।
साहलाई सिम्रौनगढ १ रानीवास बजार हुँदै हरिहरपुर गाउँ जाने क्रममा प्रहरीले पक्राउ गरेको हो । बरामद भएको सबै नोट १ हजार दरको छ ।
साहको साथबाट ना २५ प १९७७ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको मुद्दा फाँटका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सुरेन्द्र यादवले बताए । उनले साहमाथि अनुसन्धान भइरहेको बताए । ‘गहिरो अनुसन्धान हुन्छ,’ उनले भने, ‘यसको सञ्जाल कहाँ(कहाँ छन्, कहाँ छपाई हुन्छ, कसले सप्लाई गर्छ रु यो सबै पाटोबाट अनुसन्धान हुन्छ ।’
पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । उनीमाथि मुद्दा चलाउने तयारी रहेको एक प्रहरी अधिकृतले बताए । जिल्लाको सदरमुकाम कलैयालगायत निजगढ, जीतपुर सिमरा तथा व्यापारिक र ग्रामीण हाट बजारमा समेत सयदेखि हजार दरका नोट छ्याप्पछ्याप्ती भेटिने गरेको व्यापारीहरु जनाउँछन् ।
पक्राउ पर्ने जति सबै भरिया भएकाले मालिक र छापिने ठाउँ पत्ता लगाउन समस्या हुने गरेको ती प्रहरी अधिकृतले सुनाए। ‘खुला सीमा पनि छ, कहाँ छापिन्छ भन्ने यकिन हुँदैन । पारिसम्म पुग्न समस्या पनि छ’, ती अधिकारीले जनाए ।


















