काठमाडाैं । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको बताएका छन् । नेता गजुरेलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का कारण सत्तारुढ गठबन्धन अहिले टुट्ने कि भरे टुट्ने भन्ने अवस्थामा पुगेको बताएका हुन् ।
पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) ले आज बुधवार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्यका मुख्य तीन अङ्ग असफल भइसकेको दाबीसमेत गरे ।
उनले भने, ‘अहिले एमसीसीको सङ्कट हेर्नुस् त । गठबन्धन अहिले टुट्ने हो कि भरे टुट्ने जस्तो भइराखेको छ । कार्यपालिकामा सङ्कट छ । व्यवस्थापिकामा सङ्कट छ । उनीहरू नै भन्छन् । हामीले मात्रै भनेको होइन । प्रतिक्रियावादीहरूको एउटा हिस्साले के भन्छ भने– सङ्कटै सङ्कट छ । न्यायपालिकाको हालत हेर्नुस् त । सर्वोच्च अदालतको प्रधानन्यायाधीशको हालत कस्तो छ ? न्यायपालिका पनि असफल भएको छ । कार्यपालिका पनि असफल भएको छ । व्यवस्थापिका असफल भएको छ ।’
नेता गजुरेलले देशको अर्थतन्त्रसमेत ‘कोल्याप्स’ हुने अवस्था पुगेको उल्लेख गर्दै यो सङ्कटबाट देशलाई निकास दिन कम्युनिस्ट क्रान्तिकारीहरू सहकार्यका साथ अघि बढ्नुको विकल्प नरहेको बताए
नेता गजुरेलले दक्षिणपन्थी अवसरवादमा पतन भएकाले प्रचण्ड र विप्लवहरूसँग आफ्नो पार्टीले एकता गर्ने कुनै सम्भावना नरहेको बताए ।
















