काठमाडौं । चिनियाँ अवरोधका कारण एक लाख १३ हजार मेट्रिकटन रासायनिक मल आयात प्रक्रिया अबरुद्ध भएको कृषि सामग्री कम्पनीले जनाएको छ । पाँच महिना अघि नै ठेक्का प्रक्रिया सकिएको उक्त मल आज-भोलि नै नेपाल भित्रिसक्नुपर्नेमा चीनको कारण अन्योलमा फसेको कम्पनीले जनाएको छ ।
नेपालले ठेक्का प्रक्रिया गर्दा चिनियाँ मल उत्पादकले विश्व बजारमा रासायिनक मल बिक्री गरिरहेको भए पनि पछि सरकारले निर्यातमा रोक लगाएको भन्दै मल दिन अस्वीकार गरेको कम्पनीले जनाएको छ ।
चिनियाँ कम्पनीबाट मल खरिद गर्न बेस ट्रेडिङ र जेन ट्रेडिङ नामक कम्पनीले २५-२५ हजार मेट्रिकटन डीएपी मलको ठेक्का पाएका थिए । यस्तै सिल्क जेभीले ५० हजार मेट्रिकटन युरिया, सिल्क ट्रान्सपोर्टले १० हजार मेट्रिकटन डिएपी र सिल्क मार्केट नामक कम्पनीले ५ हजार मेट्रिकटन डिएपीको ठेक्का लिएका थिए ।
यो आर्थिक वर्ष चीनबाट एक लाख १५ हजार ५३५ मेट्रिकटन मल आउनुपर्नेमा जम्माजम्मी दुई हजार मेट्रिकटन हाराहारी मात्रै मल भित्रिएको कृषि सामाग्री कम्पनीले जनाएको छ । मलको आयात सहज बनाउन प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराइएको पनि कम्पनीको निमित्त प्रवन्ध सञ्चालक कार्कीले जनाए । कम्पनीसँग हाल फरक टेन्डरको २० मेट्रिकटन डीएपी र साढे ७ हजार मेट्रिकटन पोटास मल मात्रै आउने निश्चित भएको कम्पनीको दाबी छ ।


















