काठमाडौं । गत पुस महिनामा वार्षिक उपभोक्ता मूल्य वृद्धिदर ५.६५ प्रतिशत रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । यो चालु आर्थिक वर्षको वार्षिक लक्ष्यभन्दा ०.८५ प्रतिशत विन्दुले कम हो ।
गत पुसको मूल्य वृद्धिदर पछिल्लो पाँच वर्ष यताकै उच्च थियो । आर्थिक वर्ष २०७३/७४ भदौमा मूल्यवृद्धिदर ७.९० प्रतिशत पुगेको थियो । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मूल्य वृद्धिदर ६.५ प्रतिशतभित्रै राख्ने लक्ष्य तय गरेको थियो । गत आर्थिक वर्षको ६ महिनामा यस्तो वृद्धिदर ३.५६ प्रतिशत थियो ।
मूल्य वृद्धिदरको वस्तुगत प्रवृति हेर्दा गत पुसमा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ४.९२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ६.२३ प्रतिशत छ । सोही अवधिमा घिउ तथा तेलको मूल्यवृद्धि दर सबैभन्दा बढी २१.२२ प्रतिशत छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ५.२८ प्रतिशत, तराईमा ६.१५, पहाडमा ५.३४ र हिमालमा ५.२२ प्रतिशत मुद्रास्फीति रहेको छ ।


















