काठमाडौं । आगामी ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेको सरकारले निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि १ लाख १८ हजार २ सय ३१ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार प्रहरी प्रधान कार्यालय नक्सालले म्यादीको आवश्यक संख्या, म्यादी परिचालनका लागि बजेट, निर्वाचनमा मौजुदा प्रहरी परिचालनका लागि आवश्य वजेटसहित यातायात साधन खरिदका लागिसमेतको योजना बनाएर मन्त्रालयमा पेस गरिसकेको छ । निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि ७ सय २३ वटा गाडी खरिद गर्नुपर्ने प्रधान कार्यालयको प्रस्ताव छ ।
म्यादी भर्ना गर्दा पूर्वप्रहरी र पूर्वसैनिकलाई प्राथमिकतामा राख्ने तयारी सरकारको छ । प्रहरी प्रधान कार्यालयले सोहीअनुसार योजना बनाएर गृह मन्त्रालयमा प्रस्ताव पठाएको हो ।
प्रधान कार्यालयको प्रस्तावमा गृहले थप प्रक्रिया अघि बढाउँदै छ । प्रधान कार्यालयले म्यादी प्रहरी परिचालनका लागि मात्रै ७ अर्ब १९ करोड ९४ लाख बजेट माग गरेको गृह स्रोतले जानकारी दिएको छ । त्यसबाहेक ९ अर्ब २९ करोड रकम प्रधान कार्यालयले सरकारसँग माग गरेको छ ।
नेपाल प्रहरीमा हाल करिब ७९ हजार, नेपाली सेनामा ९७ हजार, सशस्त्र प्रहरी बलमा ३७ हजार र राष्ट्रिय अनुसन्धान विभागमा ३ हजार जनशक्ति छ । प्रहरीले ३० प्रतिशत जनशक्तिलाई रिजर्भमा राखेर अन्य जनशक्तिलाई निर्वाचनमा खटाउने योजना बनाएको छ । राजधानी दैनिकबाट


















