काठमााडाैं । नेपालको पश्चिमी जिल्ला दार्चुलाको नौगाड गाउँपालिका–३, खारमा गत शुक्रबार राति ८ बजेतिर एउटा बेलुन खस्यो । स्थानीय गएर हेर्दा बेलुनमा तीन वटा ब्याट्री भएको विद्युतीय उपकरण थियो ।भारतीय सीमा क्षेत्रबाट आएको बेलुनमा विद्युतीय उपकरण देखेपछि स्थानीयले जनप्रतिनिधिलाई खबर गरे । जनप्रतिनिधिमार्फत प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायसम्म खबर पुग्यो ।
प्रहरीले बेलुन नियन्त्रणमा लियो र उक्त उपकरणबारे प्रशासनले भारतीय पक्षसँग जानकारी माग्यो ।बेलुनमा एउटा सम्पर्क नम्बर पनि थियो, त्यसमा फोन गरेर हेर्दा देहरादुनको मौसम विभागमा फोन उठ्यो’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी उपाध्याय भन्छन्, ‘विभागले मौसम सम्बन्धी सूचना संकलनका लागि डिभाइस राखेर उठाउँदो रहेछ, त्यो हावाले नेपालतिर ल्याएको भन्ने कुरा आयो ।’
उपाध्यायका अनुसार यसअघि पनि विभागले उडाएको बेलुन वेलाबखत नेपालमा झर्ने गरेको पाइएको छ ।उपकरणमा मौसम सम्बन्धी जानकारी लिने सामग्री मात्रै थिए वा के हो भन्ने विषयमा अनुसन्धान गर्न बरामद गरिएको उनले बताए ।उपाध्यायले भारतीय पक्षले हावाले उडाएर नेपालतिर गएको भने पनि बरामद उपकरण के हो भन्ने बुझ्न नेपाली प्राविधिकसँग पनि परामर्श गरिरहेको जानकारी गराएका छन् ।उनका अनुसार बेलुनमा पनि ‘कसैले फेला पारे मौसम विभागमा सम्पर्क गर्न´ भन्दै नम्बर उल्लेख गरिएको भेटिएको छ ।´


















