काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेका छन् । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो ।
सो अवसरमा मन्त्री भुसालले पारस्परिक हितका सबै क्षेत्रमा नेपालले नजिकैबाट काम गरिरहने सरकारको प्रतिबद्धता रहेको बताइन् । नेपाल सरकारले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादन, ई-मोबिलिटी, न्यून कार्बन पूर्वाधार र इको-टुरिजमको प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले नेपालको नवीकरणीय ऊर्जा, वातावरण व्यवस्थापनमा बेलायत सरकारको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् ।
ऊर्जा क्षेत्रमा सन्तुलन कायम राख्नका लागि आफूले जलासययुक्त आयोजना प्रवर्द्धनलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री भुसालले बूढीगण्डकी, दूधकोशी, नलगाढजस्ता आयोजनालाई आफूले प्राथमिकतामा राखेको बताए । जलविद्युत् स्वच्छ ऊर्जा भएकाले यसको प्रवर्द्धनका लागि नेपाल सरकारले प्राथमिकता दिएको र ऊर्जा क्षेत्रको विकासमा मिश्रित ऊर्जा उत्पादनमा ध्यान दिएको बताइन् ।
नवीकरणीय ऊर्जा उत्पादन तथा विद्युत् व्यापारमा पनि सहजीकरण गर्न बेलायत सरकार तयार रहेको उनले बताइन् । ऊर्जा क्षेत्रका निकायको संस्थागत सबलीकरणमा पनि सहयोग गरिरहेको उनले उल्लेख गरिन् ।


















