काठमाडौं । विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबमाथि सानदार पुनरागमन जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेल एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै एपिएफले मनाङमाथि ३–१ को सानदार पुनरागमन जित निकालेको हो। एपिएफको जितमा आशिष लामा, मणिकुमार लामा र कप्तान नविन लामाले गोल गरे। मनाङका कप्तान अन्जन विष्टले एक गोल फर्काए।
चोटका कारण भरपर्दा खेलाडी आफिज ओलावाले ओलाडिपो अफिजले पहिलो मिनेटमै मैदान छाडेपछि मनाङ दवावमा रहेको थियो। ओलावाले नहुँदा मनाङको आक्रमण फितलो देखिएको थियो।
खेलको २२औं मिनेटमा पुजन उपरकोटीको फ्रिकिकलाई गोलरक्षक युया कुरियामाले पञ्च गर्दै बचाए। ३४औं मिनेटमा एडेलाजा सोमिडेको प्रहारलाई गोलरक्षक कुरियामाले डाइभ दिँदै बचाउँदा मनाङ अग्रता लिनबाट चुक्यो। ३७औं अन्जनले गोल गर्दै मनाङलाई अग्रता दिलाए। गोलरक्षक विशाल सुनारले फालेको लामो बललाई अन्जनले गोलरक्षक अघि बढेको अवस्थामा हेडरले जाली चुमेको थियो। ३९औं मिनेटमा अन्जनको पासमा विमल रानाको वान भर्सेस वानको स्थितिको प्रहारलाई गोलरक्षक कुरियामाले सहजै नियन्त्रणमा लिए।
तर, ४०औं मिनेटमा आशिषले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। कप्तान नविनको पासमा आशिषले डिफेन्डर नरेन्द्र चौधरीलाई र गोलरक्षक विशाल सुनारलाई बिट गर्दै सहजै गोल गरे। पहिलो हाफमा सन्तोषजनक खेल प्रदर्शन गरेको मनाङका खेलाडी दोस्रो हाफको अन्तिम १० मिनेटमा भने सुस्त देखिए।
८१औं मिनेटमा सब्सिच्युट मणिकुमार लामाले गोल गर्दै एपिएफलाई २–१ ले अघि बढाए। कप्तान नविन लामाको पासमा उनले सहजै गोल गरेका हुन्। ८६औं मिनेटमा कप्तान नविनले गोल गर्दै एपिएफलाई ३–१ को सानदार पुनरागमन जित दिलाए। आशिष लामाले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको बल मनाङका गोलकिपर विशालले रोकेपछि आएको रिबाउन्डमा उनले गोल गरेका हुन्।
जितसँगै एपिएफ रेलिगेसन जोनबाट उम्किएको छ। एपिएफको ११ खेलबाट १४ अंक पुगेको छ। एपीएफ आठौं स्थानमा उक्लिएको छ। पराजित मनाङ ११ खेलबाट २० अंक जोडेर दोस्रो स्थानमा यथावत् रहेको छ।


















