सरकारी जग्गा हडप्ने मतियारलाई कारबाहीको दायरामा ल्याउनुपर्छ : सांसद थापा

46

काठमाडाैं । नेपाली कांग्रेसका सांसद गगन थापाले जतिसुकै शक्तिशाली भए पनि सरकारी जग्गा हडप्ने र सहकारी ठगीका मतियारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने जनाएका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा पार्टीका तर्फबाट धारणा राख्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले सरकारी जग्गा हडप्ने र सहकारी ठगीका मतियारलाई कानुनी दायरामा ल्याउनुपर्ने जनाए।

‘जोसुकै होस्, जतिसुकै शक्तिशाली होस्। राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति होस्। नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनु पर्दैन? दण्ड पाउनु पर्दैन? जतिसुकै शक्तिशाली होस्, जुनसुकै पदमा बसेको होस्। हातमा तागत, कलम होस्। नागरिकता बनाउन कीर्ते गर्छ भने फलानो दलसँग जोडिएको छ, त्यसकारणले गर्दा कीर्ते गरे पनि माफी हुन्छ, चल्छ?,’ महामन्त्री थापाले प्रश्न गरे।

ठगीको धन्दा चलाउनेलाई पनि कारबाही गरिनुपर्ने थापाले जनाए ।

‘आम नागरिकहरूले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्दा चलाउँछ र ठगीको मतियार हुन्छ भने कानुनी कारबाहीको दायरामा आउनु पर्दैन? कानुनले कारबाही गर्नु पर्दैन?,’ थापाले प्रश्न गरे, ‘त्यसैले सुशासनका लागि आजको दिनको मन्त्र भनेको- कानुन र विधिको शासन हो। चाहे जग्गा मिच्ने, हडप्ने होस्, चाहे नागरिकता कीर्ते वा सहकारीमा ठग्ने होस्, यताको होस् उताको होस्। जुनसुकै दलको होस्। दलभन्दा बाहिरको होस्। शक्तिशाली होस् कसैले उन्मुक्ति पाउनु हुन्न।’

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा व्यक्तिका नाममा ल्याएको आरोपमा व्यापारी अरूणकुमार चौधरीसहितलाई प्रहरीले पक्राउ गरेको थियो। आफ्ना भाइलाई पक्राउ गरेको भन्दै कांग्रेसकै सांसद विनोद चौधरीले पार्टी संसदीय दल बैठकमा ‘राज्यले आतंक मच्चाएको र प्रतिशोध साँधेको’ जनाएका थिए।

यस्तै पोखराको सूर्यदर्शन सहकारी ठगीमा पीडितहरूले प्रतिनिधि सभा सदस्य रवि लामिछानेविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने, दिपेश पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन र १५ कम्पनीविरूद्ध जाहेरी आएको जिल्ला प्रहरी कार्यालयका एसपी मोहनबहादुर थापाले जनाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here