राष्ट्रघाती एमसीसीविरुद्ध जारी आन्दोलनलाई भाँड्न षड्यन्त्र सुरु भएकाे बिप्लवकाे दावी

87

काठमाडौं ।  बिप्लव नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले  राष्ट्रघाती एमसीसीविरुद्ध जारी आन्दोलन जनसहभागितासहित प्रभावकारी बन्दै गएपछि यसलाई भाँड्न साम्राज्यवादका नेपाली दलालहरूले विभिन्न किसिमका प्रायोजित षड्यन्त्रहरू सुरु गरेको भन्दै आज आह्वान गरिएको प्रदर्शनमा पनि निर्धक्कसँग सहभागी हुन आह्वान गरेको छ ।

शुक्रबार बिहान कलङ्की क्षेत्रमा दुईवटा कुकर बम भेटिएको हल्ला चलेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्दा जनतामा भ्रम र भय उत्पन्न गराउने उद्देश्यले शङ्कास्पद वस्तु मात्र राखेको पाइएको थियो । कुकर बम राखिएको भ्रमपूर्ण समाचार सनसनीपूर्ण बनेपछि कलङ्की क्षेत्र आतङ्कित बनेको थियो । केही समय यातायातका साधन पनि प्रभावित बनेका थिए ।

यसै सन्दर्भमा नेकपाको प्रचार तथा प्रकाशन विभागका इन्चार्ज प्रज्वलनले राष्ट्रघाती एमसीसीविरोधी आन्दोलन प्रभावकारी बनेपछि आन्दोलनकारी पार्टीबीच विभाजन ल्याउन सरकारले नै यसप्रकारका प्रायोजित हल्ला र षड्यन्त्र गरेको दाबी गरेका छन् । शान्तिपूर्ण रूपमा देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीप्रति लक्षित गर्दै कतिपय तत्वले उक्त नक्कली बम विप्लव नेतृत्वको नेकपाले राखेको हुनसक्ने आशङ्का गरेको विषयमा कडा प्रतिवाद गर्दै नेकपाका केन्द्रीय सदस्यसमेत रहेका प्रकाशन विभाग इन्चार्ज प्रज्वलनले भने, ‘यो आन्दोलनकारी शक्तिलाई विभाजित गर्ने र फुटाउने प्रायोजित षड्यन्त्र हो । आन्दोलनकारी पार्टीहरूले यो षड्यन्त्र बुझिसकेकाले संयुक्त रूपमा प्रतिरोध गरिनेछ र एमसीसी पारित गर्ने योजना निष्फल बनाइनेछ ।’

उक्त घटनालाई एमसीसीविरोधी सडक सङ्घर्ष मत्थर पार्न सरकारबाट प्रायोजित षड्यन्त्रका रूपमा गराइएको घटनाका रूपमा लिइएको छ ।

नेकपाप्रति इङ्गित गरेर भएका आशङ्का सर्वथा झूटो रहेको पनि नेकपाले जनाएको छ । नेकपाले आज एमसीसीविरुद्ध देशभर र काठमाडौँ नयाँबानेश्वरस्थित संसद् भवनअगाडि हुने विरोध प्रदर्शनमा अझ व्यापक उपस्थिति जनाउन र एमसीसी पास गर्ने साम्राज्यवादी योजना असफल पार्न पनि आह्वान गरेको छ । यसैबीच नेपाल प्रहरीको स्रोतका अनुसार नक्कली बम राखिएको स्थानमा नेकपा क्रान्तिकारी नाउँको पर्चा भेटिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here