काठमाडाैं । बिहिवार एमसीसी सम्झौताबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको दुई घण्टा लामो बैठक बिना निष्कर्ष टुंगिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सकारात्मक छलफल भएको तर, सहमति नजुटेपछि आज बिहान १० बजे बस्नेगरी बैठक टुंगिएको हो ।
स्रोतका अनुसार एमसीसी पनि पास गर्ने र गठबन्धन पनि नतोड्ने गरि सहमतिको साझा बिन्दु खोज्ने प्रयास भैरहेको छ । त्यसका लागि थप छलफल आवश्यक हुने भएकाले केही दिन एमसीसी संसदमा टेवल नगर्न प्रधानमन्त्री सहमत हुनुभएको थाहा भएको छ ।
त्यस्तै, माओवादी र एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मत हाले पनि सरकार र गठबन्धन भने कायमै राख्ने सहमति बनेको छ ।
बैठकमा कांग्रेसको तर्फबाट प्रधामन्त्री शेरबहादुर देउवा, नेका महामन्त्री गगनकुमार थापा, प्रवक्ता प्रकाशशरण महत, नेताहरू ज्ञानेन्द्र बहादुर कार्की र कृष्ण प्रसाद सिटौला सहभागी थिए ।
माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ , एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालको सहभागिता थियो ।
जसपाबाट बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ थिए । पूर्वप्रधानमन्त्री खनाल द्वेय र नेपाल भने बैठकको बिचमै बाहिरिनुभएको थियो ।
प्रधानमन्त्री देउवा एमसीसी पास गर्ने अडानमा हुनुहुन्छ । प्रमुख सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी संसदमा टेबल गर्ने विषयको विपक्षीमा छन् ।


















