काठमाडौं । खेल सकिन दुई मिनेट बाँकी छँदा अफ्रिकी खेलाडी अंगुना जुनियर निर्णायक गोल गरेपछि जावलाखेल युथ क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रेलिगेसनबाट मुक्त बनेको छ ।
दशरथ रंगशालामा आइतबार भएको खेलमा जावलाखेलले हिमालयन शेर्पा क्लबलाई २–१ गोलले हरायो । जावलाखेलको जितमा रुपबहादुर रानाले १५औँ मिनेटमा खाता खोल्नुभयो । रुपबहादुरको कर्नर प्रहार सोझै गोलमा परिणत भएको थियो ।अंगुनाले ८८औँ मिनेटमा गोल गर्दै जावलाखेललाई महत्वपूर्ण जित दिलाउनुभयो । यसअघि हिमालयन शेर्पाका अमृत श्रेष्ठले ७१औँ मिनेटमा बाइसाइकल किकमार्फत उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । अन्तिम समयमा सम्हालिन नसक्दा शेर्पाले हार खेपेको थियो ।
जावलाखेलका निकोलस फर्नान्डेस ‘म्यान अफ दि म्याच’ हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । जितसँगै १२ खेलबाट १३ अंक बनाएको जावलाखेल १०औँ स्थानमा उक्लिएको छ ।पराजित शेर्पा १३ अंक सहित नवौँ स्थानमा छ । ब्रिगेड ब्वाइज, फ्रेन्ड्स र पुलिस क्लब रेलिगेसनको दबाबमा रहेको छ ।
ब्रिगेड सात अंक सहित १३औँ स्थानमा छ । १० अंक बनाएको पुलिस ११औँ र समान १० अंक बनाएको फ्रेन्ड्स तालिकाको १२औँ स्थानमा छ । ६ अंक मात्र बनाएको च्यासल यसअघिनै रेलिगेसनमा परिसकेको छ । खेलपछि जावलाखेलका प्रशिक्षक किशोर केसीले आज जितेर रेलिगेसन मुक्त गर्ने योजना सफल भएको बताउनुभयो । ‘हामी ९० प्रतिशत जित्ने लक्ष्यका साथ आएका थियौँ । खेलाडीले राम्रो खेले ।
आर्मी र फ्रेन्ड्ससँगको खेलमा गल्ती गर्दा दबाब बढ्यो । आगामी दिनमा कमजोरीको समिक्षा गरेर अगाडि बढ्नेछौँ,’ केसीले भन्नुभयो । शेर्पाका प्रशिक्षक युगल किशोर राईले राम्रो खेलेपनि गोल गर्न नसक्दा हार खेपेको बताउनुभयो । ‘खेल समग्रमा राम्रो थियो । बराबरीमा सकिने खेलका गोलरक्षकको सानो गल्तीले अन्तिमा गोल खानु नै कमजोरी भयो,’ राईले भन्नुभयो ।


















