धनीराम साहूका सेर्बादुर !

135

—मुक्तिबन्धु

गाउँका सवैभन्दा पाका मान्छे हुन् धनीराम साहू । आइपुगेको बेला भेटेर जाउँ न भनेर म उनकोमा पसेको थिएँ । साहू बुढा फलैँचामा बसेर हुक्का तान्दै नोकरसँग गफिइरहेका थिए । नमस्कार गरेर फलैँचा छेउमा बसेँ । उनी नोकरलाई भन्दै थिए, “ए सेरबादुर, यसपाला दशैँमा बाख्रा सेर्छस् कि मार हान्छस् ? तैँले खर्कमा चौँरी पनि सेरिस् रे भन्ने सुनेँ । तँ मौका पाए गाइ पनि सेर्छस् माइ पनि सेर्छस् । के सेर्न हुने के सेर्न नहुँने तँ हरिलट्ठकलाई के थाहा ?! हातमा खुकुरीखुँडा परेपछि तँ जसलाई सक्यो त्यसलाई सेर्छस् । तेरी आमाले तेरो नाम सेर्बादुर जानेरै राखिछ । हा हा हा ! धनीराम साहू तिघ्रा ठटाउँदै हाँसे । मलाई यो टिप्पणी र हाँसो पौराणिक लाग्यो । मैले मुन्टो मर्काएर पालैपालो सेर्बादुर र धनीरामका मुखतिर हेरेँ ।

के हेर्छौ माष्टर, तिमीहरुलाई थाहै छैन नेपाली मनको दुर्दशा ! तिमेरुलाई थाहै छैन । तिमेरु विदेशीका किताप पढेर बुद्धि बनाउने मान्छे । नेपाली शब्दको अर्थै बुझेको छैन तिमेरुले । बादुरको अर्थ के हो थाहा छ ?

बहादूरु भनेको वीर, पराक्रमी । अङ्ग्रेजीमा ब्रेभ भन्छन् । संस्कृतमा पुरुषार्थी भन्छन् ।

अङ्ग्रेजीमा के भन्छन् मलाई मतलब छैन । उर्दूमा बहादूर भनेको शूरवीर हो । नेपालीमा पनि बहादूर शाह थिए । शूरवीर थिए । अहिले त्यस्ता शूरवीर छैनन् । बहादूर छैनन् । नेपालीका अहिलेका बादूर नाम इण्डियन र बेलाइतीहरुले दिएको होचो नाम  हो । नेपालको सरकारले मोल कमिसन लिएर गोर्खाभर्ती केन्द्रमा बेचिएका बिचरा भाडाका सैनिकका बा त यतै नेपालमै छुट्छन् । इण्डियन साहूहरुका घर होटलमा भाँडा माझ्ने बिचरा नेपालीहरुका पनि बा यतै छुट्छन् । बा दूर अर्थात् बाउ टाढा दूर कता कता ! यसरी भएका हुन् आजका बादूर ।

यही सेर्बादुरका पनि बाउ कता कता ! यसले देख्नै पाएन । यसकी आमाले यसलाई दूध चुसाउँदै च्यापेर ल्याएकी थिई । यहीँ हाम्रा गोठमा भेडीका दूध पिएर हुक्र्यो । यसको बानी बेहोर पनि भेडाको जस्तै छ । फरक कति भने भेडाले खुँडा उध्याउन र कसैको घाँटी सेर्न जान्दैन । यसले जानेको छ । खुँडा देखेपछि यसलाई त्यो खुँडा उठाउन र कसैको घाँटी सेर्न चौ चौ लागेर आउँछ । यसकी आमालाई पनि अहिले यससँग जोगिन धौ धौ छ । यसलाई मार हान्नभन्दा सेर्न मन पर्छ । छटपटएको हेर्न मन पर्छ । यसमा यस्तो निर्दयी मन कहाँबाट आयो थाहा छैन । यसको बाउ त्यस्तै केही थियो कि ? थाहा छैन । अनि यो अनौठो भालुभुत्ते हो भालुभुत्ते । कमजोरलाई पाए भालुले जसरी जाइलाग्छ । हाम्रा अगाडि लुमुक्क पर्छ । छेर् भालु बन्छ । नाच् भालु भन्यो भने नाच्न थाल्छ । यसै भएर मेरी बुढी त यसलाई छेरबादुर भनेर गिज्याउँछे । धनीराम साहू फेरि तिघ्रा ठटाएर हाँसे ।

यस टिप्पणीको असर अध्ययन गर्न मैले सेर्बादुरतिर हेरेँ । पर्खालका ढुङ्गामा कक्कड तानेर बसेको सेर्बादुर ङिच्च दाँत देखाएर हाँसिरहेका थिए ।

यस्ता गोज्याङ्ग्रालाई पाए विदेशीले पनि डाडू पन्यू बनाइदिन्छ । तिनका सवै भोज भतेरमा डाडू पन्यू बन्ने यस्तै गोज्याङ्ग्राहरु हुन् ।

मैले मनमनै सोचेँ ।

यो कथा होइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here