प्रेमीसँग मिलेर श्रीमान्‌को हत्या गरेको आरोपमा श्रीमतीसहित दुई पक्राउ

86

दाङ । दाङको देउखुरीमा एक पुरुषको हत्या आरोपमा श्रीमतीसहित दुई जना पक्राउ परेका छन्।

राप्ती गाउँपालिका–३ वसन्तपुर बस्ने करिब वर्ष ५४ को लप्टेन चौधरीको हत्या गरेको आरोपमा श्रीमती ५० वर्षीया उमादेवी चौधरी र मसुरिया बस्ने ५२ वर्षीय हनुमान चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

फागुन १ गते काम गर्न जान्छु भनी गढवा गाउँपालिका–३ गोवरडिया गएको र घरमा नआएको भनी श्रीमान्‌को खोजतलास गर्न फागुन ५ गते उमादेवी चौधरीले निवेदन दिएकी थिइन्। चौधरीको खोजतलास गर्ने क्रममा राप्ती नदी किनारमा चौधरीको शव फेला परेको थियो।

तर, घटना शंकास्पद भएको भन्ने जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी निरीक्षक भुवन भट्टको कमान्डमा खटिएको प्रहरी टोलीले अनुसन्धान थालेपछि हत्याको भएको रहस्य खुलेको हो।

छरछिमेकमा बुझ्दा मृतक र निजको श्रीमतीबीचको सम्बन्ध राम्रो नभएको खुल्न आएकाले प्रहरीले मृतकको श्रीमती उमादेवी चौधरीलाई सोधपुछ गरेको थियो।

मृतक श्रीमान्‌ले निज महिलालाई कुटपिट गर्ने गरेको र राप्ती गाउँपालिका–३ मसुरिया बस्ने हनुमान चौधरीसँग अवैध प्रेम सम्बन्ध रहेको भनी गाउँसमाजमा बेइज्जत गर्न थालेपछि हत्याको योजना बनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। माघ २९ गते श्रीमान्ले आफूलाई मार्ने धम्की दिएको र हातपात गरेको भन्दै हनुमान चौधरीलाई उमादेवीले फोन गरेकी थिइन्।

सोही राति करिब १० बजे हनुमान चौधरी घरको दक्षिणपट्टिको खुला रहेको ढोकाबाट घरभित्र पसेर चौधरीको छातीमा मुड्कीले हानेका थिए। त्यसपछि घाँटी च्यापेर हत्या गरेको प्रहरीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

हनुमान चौधरीले आफै पिठ्युँमा बोकेर नदी किनारमा फालेको प्रहरीले दाबी गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here