-राज्यलक्ष्मी
कोरोना संक्रमणको विस्तार कम भएको छ । नेपालमा मात्र होइन, विश्वमै संक्रमणको दर घटेको छ । यो अवस्थाले विश्वव्यापी रुपमै सन्तोष व्यक्त भइरहेको छ । तर शक्तिउन्मादमा लागेका देशहरुको द्वन्दले अर्को त्रास सृजना गराइरहेको छ । अहिले रुस र युक्रेनबीच चलेको संघर्षले समाधानको बाटो लिन सकेन भने निश्चित रुपमा मानव विनास युद्धको अवस्था सृजना हुनेछ । जो कोरोना भाइरसभन्दा पनि खतरनाक हुने निश्चित छ ।
हुन त अभैm पनि कोरोना भाइरसको संकट टरेको छैन । बरु लापर्वाही गर्ने क्रम बढ्दै छ । चाहे सार्वजनिक स्थल होस् या धार्मिक स्थलहरुमा मास्क बिना खुल्लम खुल्ला हिड्ने क्रम जारी छ । नेपाल सरकार कोराना भाइरस विरुद्ध व्यापक रुपमा खोप अभियानलाई निरन्तरता दिन लागि परेको छ । तर सर्वसाधारणमा अटेरीपन पनि बढ्दै छ । खोप नलगाएका नागरिकहरु धेरै छन् । नेपाली नागरिकहरु दुई छाक खान समेत नपुग्ने अवस्थामा जीवन गुजारी रहेका छन् । उनीहरुलाई खोपको महत्व रहने कुरा भएन । जनताका दैनिक समस्याहरुप्रति कुनै पनि सरोकारवाला संस्थाहरुले खासै ध्यान नदिदाँ अभैm कोरोना भाइरसको महामारी नबढ्ला भन्न सकिदैन ।
हाल नेपालमा कोरोना संक्रमणदर १ प्रतिशत तल झरेको छ । यो लेख तयार पार्दाका अवस्थासम्म ९ हजार ७१० जनाको परीक्षण हुँदा संक्रमणदर १ दशमलव १४ प्रतिशत मात्र छ । यो संख्या पुस महिना यताकै सबैभन्दा कम हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक केलाउँदा फागुनको ५ गते देखिन्छ । नेपालमा कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा तल झर्न थालेको देखिन्छ । स्वास्थ्य मन्त्रालय र विज्ञहरुले कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा कम भए मात्र संक्रमणको अवस्थालाई सामान्य मान्ने गरेको छ । गत शनिबार पनि ५ हजार १५२ जनाको परीक्षण हुँदा कोरोना संक्रमण दर ३ प्रतिशत मात्र थियो ।
यसअघि शुक्रबार ८ हजार ६२८ जनाको परीक्षण हुँदा कोरोना संक्रमणदर ३ दशमलव १९ प्रतिशत थियो । फागुन १२ गते संक्रमणदर ४ दशमलव ११, ११ गते ३ दशमलव ५९, १० गते ५ दशमलव ५, ९ गते ४ दशमलव ७७, ८ गते २ दशमलव ६७, ७ गते ४ दशमलव ९३, ६ गते ४ दशमलव ८१ र ५ गते ५ दशमलव ८२ प्रतिशत थियो। यद्यपि फागुनको सुरुवातदेखि नै संक्रमणदर १० प्रतिशतभन्दा कम हुँदै गएको पाइन्छ ।
कोरोना संक्रमणको जोखिम कम हुँदै गएपनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा सुक्ष्म जीवाणु विज्ञ डा सन्तोष दुलाल जोड दिदै भन्नु हुन्छ — ‘लापबारही गर्दा कोरोनाको अर्को नयाँ भेरियन्ट आउने जोखिम सधै रहनेछ ।’
कोरोना भाइरस अप्रत्याशिल र परिवर्तनशील छ । त्यसैले भाइरसको अर्को परिवर्तित स्वरुप आएर पुनः संक्रमण फैलिने र महामारी बढ्ने सम्भावनालाई मध्यनजर गर्न जरुरी छ । त्यसैले जनस्वास्थ्यका मापदण्ड अनुशासित भएर पालना गर्नुको विकल्प छैन ।
अहिलेसम्म अल्फा, गामा, बिटा, डेल्टा, ओमिक्रोन लगायत भेरियन्ट देखिसकेका छौँ । भाइरस आफुलाई स्थापित गर्न आफ्नो स्वरुप परिवर्तन गरिरहन्छ । त्यसैले यसले कसरी स्वरुप परिवर्तन गर्न सक्छ ? कसरी समाप्त हुन्छ भनेर अनुमान गर्न नसकिने भएकाले सावधानी नै निराकरणको उपाय हो भन्ने सबैले बुझ्न जरुरी छ । जनतामा जागरुकता, सचेतता नै सबै भन्दा महत्वपूर्ण कुरा हो । सरकारी स्तरबाट अभियानका रुपमा जनताका बीच सचेतता पु¥याउन भने प्रभावकारी देखिएको छैन । जनधारणा साप्ताहिकबाट


















