मधेसमा एक वर्षमा ७५८ मानवअधिकार उल्लंघनका घटना

80

जनकपुरधाम – मधेस प्रदेशमा एक वर्षमा भएको मानवअधिकार उल्लंघन र ज्यादतीको घटनामा सात सय जनाभन्दा बढी व्यक्ति पीडित भएका छन्।

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले शनिबार जनकपुरधाममा मानवअवधिकार वर्ष पुस्तक २०२२ सार्वजनिक गरेको छ। जसअनुसार २०७७ पुस १७ गते देखि २०७८ पुस १६ गतेसम्म ७ सय ५८ जना पीडित भएका छन्।

इन्सेकका अनुसार २०२१ म मधेस प्रदेशको सिरहा जिल्लामा सबैभन्दा बढी मानवअधिकार उल्लंघनको घटनामा व्यक्ति पीडित बनेका छन्। सिरहामा अन्य पक्षबाट १३१ जना पीडित बनेका छन् भने राज्य पक्षबाट ५ जना पीडित बनेका छन्।

त्यस्तै, धनुषामा १११ जना अन्य पक्षबाट पीडित बनेका छन् भने १८ जना राज्य पक्षबाट पीडित भएका छन्। सर्लाहीमा अन्य पक्षबाट ६६ जना र राज्य पक्षबाट ४० जना, सप्तरीमा अन्य पक्षबाट ८९ र राज्य पक्षबाट ७, रौतहटमा अन्य पक्षबाट ८५ र राज्य पक्षबाट ६ जना पीडित बनेका छन्।

त्यस्तै, पर्सामा अन्य पक्षबाट ८० र राज्य पक्षबाट १ जना पीडित बनेका छन् भने महोत्तरीमा अन्य पक्षबाट ४५ र राज्य पक्षबाट एक जना पीडित बनेका छन्।

इन्सेकको मानवअधिकार वर्ष पुस्तक २०२२ अनुसार २०२१ मा बलात्कारको २ सय ३४ वटा घटना भएका छन्। बलात्कारको घटनामा सबैभन्दा बढी बालबालिका पीडित बनेका छन्। एक वर्षमा बालअधिकारको घटनातर्फ १५६ जना बालिका बलात्कृत भएका छन् भने महिला अधिकारतर्फ ७८ जना बलात्कृत भएका छन्।

इन्सेकको तथ्यांकअनुसार मधेस प्रदेशमा एक वर्षमा ५ जनाको कारागारमा मृत्यु भएको छ। त्यस्तै, ७३ जनाको हत्या भएको छ ।

कारागारको क्षमताभन्दा दोबर कैदी

मधेस प्रदेशको विभिन्न स्थानमा ५ वटा कारागार रहेकामा कारागारको क्षमताभन्दा दोेब्बर कैदी छन्। विभिन्न पाँच जिल्लाको कारागारको कुल क्षमता १५६० रहेकोमा ३ हजार २३८ जना कैदी छन्। त्यस्तै, ११ जना आश्रित बालबालिका रहेको इन्सेकको तथ्यांक छ।

सप्तरीको कारागारको क्षमता १२५ रहेकामा यहाँ ३७० कैदी छन्। त्यस्तै, सिरहाको १५० क्षमता रहेकामा ६४६, महोत्तरीको १३५ क्षमता रहेकामा ५६१, रौतहटको क्षमता १५० रहेकामा ३५७ र पर्साको क्षमता १ हजार रहेकामा यहाँ १ हजार ३०४ जना कैदी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here