पर्यटन सद्भावना दूतमा सगरमाथा आरोही पत्रकार कल्पना महर्जन नियुक्त

103

इलाम  ।  इलाम नगरपालिकाको पर्यटन सद्भावना दूतमा नियुक्त कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन र इलाम नगरपालिकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

इलाम नगरपालिकाको प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङको  उपस्थितिमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेल र सद्भावना दूतमा नियुक्त विश्व कीर्तिमानी आरोही महर्जनले हस्ताक्षर गरेका हुन्।

महर्जनले २०७५ जेठ ९ गते नेपालतिरबाट र २०७६ जेठ ९ गतेकै दिन तिब्बती मोहोडाबाट सगरमाथाको आरोहण गरेकी हुन्।

पत्रकारितामा क्रियाशील महर्जन दुवै तर्फबाट सगरमाथाको आरोहण गर्ने पहिलो महिला पत्रकार हुन्। महर्जनलाई २०७८ कात्तिक २२ गते बसेको इलाम नगरपालिकाको कार्यपालिकाको बैठकले पर्यटन सद्भावना दूतमा नियुक्त गर्ने निर्णय गरेको थियो।

महर्जनसंगै नगरपालिकाले इलामका पहिलो सगरमाथा आरोही याम बहादुर गुरुङलाई पनि पर्यटन सद्भावना दूतमा नियुक्त गर्ने निर्णय गरेको हो। महर्जनले इलाम नगरपालिका क्षेत्रको पर्यटकीय स्थलहरूको प्रचार प्रसारको काम गर्नेछिन्।

इलाम नगरपालिका पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष प्रकाश अधिकारीले महर्जनसंग समितिले इलामको पर्यटन विकासमा सहकार्य गर्ने बताए। सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले पर्यटन सद्भावना दूतमा नियुक्त महर्जनलाई बधाई ज्ञापन गर्दै इलामको पर्यटन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here