नेपाल-प्रचण्डले एमसीसी संसदबाट पारित गराउन प्रम देउवालाई वचन दिएको ओलीकाे खुलासा

85

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमसीसी संसदबाट पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई वचन दिएको बताएका छन्।

शुक्रबार बिहानै प्रधानमन्त्री देउवालाई भेटेर दाहाल–नेपाल दुवैले गठबन्धन नटुटाउने सर्तमा एमसीसी पास गर्ने वचन दिएको ओलीले बताए।

शनिबार काठमाडौँमा आयोजित प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन, नेपालको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले एमसीसीबारे कांग्रेसले आफ्नो पार्टीसँग छलफल गरेपछि दाहाल–नेपाल गठबन्धन टुट्ने डरले अत्तालिएको दाबीसमेत गरे। तर प्रधानमन्त्री देउवाले भने एमसीसी पास गर्न इमान्दार हुन दाहाल–नेपाललाई सचेत गराएको ओलीको भनाइ थियो।

अध्यक्ष ओलीले आफ्नो पार्टीले भने देश र जनताको हितमा त्यसबारे आवश्यक निर्णय लिने दोहोर्‍याए। उनले गैरसांसदहरुलाई संसदमा राखेर सभामुख अग्नीप्रसाद सापकोटाले संसद चलाएसम्म आफूहरुले संसदको कुनै पनि प्रक्रियामा भाग लिन नसक्ने अडान पनि दोहोर्‍याए।

ओलीले भने, ‘एमसीसीबारे हामीसँग कांग्रेसले कुरा गर्‍यो। कांग्रेसले कुरा गरेको थाहा पाएपछि साथीभाइको सातो गएछ–गठबन्धन टुट्छ भनेर। हिजो बिहान गए प्रचण्ड, माधव नेपाल कुदेर शेरबहादुर देउवाकहाँ। गएर भन्नु भो–हामी एमसीसी पास गर्छौँ, गठबन्धन जोगाइदिनुस्, हामीलाई सडकमा नफालिदिनुस् प्रभू भनेपछि प्रधानमन्त्री देउवाजीले हेर्छु, कत्तिको इमान्दार छौ, इमान्दार रहेछौ भने ठीक छ भनेर प्रधानमन्त्रीजीले पठाउनु भयो। गएको राति उहाँहरु आधा–आधा सुत्नु भयो। निन्द्रा लागेन, अब के गर्ने? नेकपा एमाले यसरी चल्दैन। नेकपा एमालेले राष्ट्रिय हित, जनता र देशको हित, देशको विकास, अन्तर्राष्ट्रिय सम्बन्धलगायतका तमाम कुराहरुलाई हेरेर जे गर्दा राष्ट्रका लागि उचित हुन्छ, त्यो मात्रै गर्छ।’

अध्यक्ष ओलीले जनप्रतिनिधिहरुलाई एमसीसीबारे आवश्यक निर्णय लिन आफूले प्रधानमन्त्री हुँदा सो प्रस्ताव संसदमा पेश गरेको पनि स्पष्ट पारे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here