काठमाडौं । नेपाल एपीएफ क्लबले ललितपुर मेयर महिला च्याम्पियन्ससिप टी २० क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । एपीएफले सोमबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै उपाधि हासिल गरेको हो । यो विभागीय टिमको लगातार दोस्रो उपाधि पनि हो । यो सँगै एपीएफले २ लाख नगद पनि प्राप्त गर्यो । त्यस्तै सुदूरपश्चिमले १ लाख नगद हासिल गरेको छ ।
सुदूरपश्चिम टिमले १ सय १४ रनको विजयी लक्ष्य तेस्र्याएको थियो । अनुभवी खेलाडी समिटिएको एपीएफको लागि यो लक्ष्य सामान्य नै रह्यो । टिमले १५.५ ओभरमा केवल २ विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्न सफल भयो । टिमलाई विजयी बनाउन ओपनर ब्याटर ज्योति पाण्डेले सर्वाधिक ४३ रन जोडिन् । उनले कप्तान सीता रानामगरसँग पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दै जितको आधार तयार पारेकी थिइन् । जसमा सीताले १९ रनको योगदान दिइन् ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १३ रन बनाएको थियो । टिमको लागि विन्दु रावलले सर्वाधिक ३७ रन जोडिन् । पहिलो विकेटको लागि ओपनर विन्दु र रेवती धामीले ४८ रनको साझेदारी गरेका थिए । जसमा रेवतीको योगदान १० रन थियो ।
विन्दु आउट भएपछि डली भट्ट र कविता कुँवरले सानदार ब्याटिङ गरे । उनीहरूले तेस्रो विकेटको लागि महत्त्वपूर्ण ५२ रनको साझेदारी गरेका थिए । डलीले ३६ रन जोडेकी थिइन् भने कविता २४ रनमा नटआउट रहिन् । एपीएफकी सुष्मा श्रेष्ठले २ विकेट लिइन् ।


















