सुर्खेत । फागुन १६ गते आव्हान गरेको नेपाल बन्दमा सुर्खेतका देशभक्त जनताले राष्ट्रघातीहरुको पार्टी कार्यलय, प्रहरी विट लगायतमा तोडफोड, आगजानी गरेका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, बैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी), आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र अन्य देशभक्त राजनीतिक दलहरुले आव्हान गरेको नेपाल बन्दको क्रममा स्थानीय जनताले एमसीसी खारेजी गर्नु पर्ने नारावाजी गर्दै एमाले पार्टी कार्यलयमा आगो लगाएका छन् । त्यसै गरी उनीहरुले काँग्रेस र माओवादीको कार्यलयमा तोडफोड गरेका छन् ।
बीरेन्द्र नगर ६ मा रहेको एमाले कार्यलयमा एमसीसी पास गर्न सघाएको भन्दै उनीहरुले आगो लगाएका थिए । सुर्खेतको मंगलगढी चौक हुँदै एरीचौक, लाटीकैली लगायतका चौकहरुमा स्थानीयले ढुंगामुडा गरेर सशस्त्र प्रहरीलाई लखेटेका थिए । हामी काँगे्रसको कार्यकर्ता हौ भन्ने कार्यकर्ताले एमसीसी खारेजी नभएसम्म आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले एमसीसी पास गर्नु भनेको हामी बेचिनु हो भन्दै प्रदर्शन गरेका छन् ।
दिनको २ बजेदेखि कडा ढंगले चौकमा उत्रिएका स्थानीयमाथि प्रहरीले दर्जनौ अश्रुग्यास प्रहार गरे पनि स्थिति नियन्त्रण गर्न सकेन । बेलुकी ८ बजेसम्म पनि राष्ट्रघाती देशद्रोहीको विरुद्ध प्रदर्शन गरिरहेको स्थानीयले बताएका छन् । उनीहरुले सो क्षेत्रमा आफन्तहरुलाई आवतजावत नगर्न भन्न पटक पटक सुझाव दिइरहेका थिए ।
संसदवादी दलहरुले राष्ट्रघाती एमसिसी सम्झौता अनुमोदन गरेको विरोधमा ८ दलले नेपाल बन्दको आह्वान गरेका थिए । संसद्वादी दलहरुले षड्यन्त्र र बलपूर्वक संसद्बाट राष्ट्रघाती एमसीसी पारित गरेपछि जनता त्यसका विरुद्ध स्वतस्फूर्त सडकमा उत्रिएका छन् । सोमबार नेकपासहित ६ दल र २ मोर्चाको आह्वानमा नेपाल बन्दका क्रममा जनता आक्रोशित बनेर संसद्वादी दलविरुद्ध कार्बाहीमा उत्रिएका थिए । काँगे्रस लगायत दुइजिव्रेहरुको गठवन्दन सरकारले संसद्वादी दलहरूलाई जोगाउन भोलि साँझसम्मका लागि राष्ट्रघातीलाई बचाउन सुर्खेतमा कर्फ्यु लगाएको समाचार प्राप्त भएको छ ।
प्रहरीले राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यु आदेश जारी गरेको जनाएको छ । स्थानीय प्रशासनले सोमबार बेलुकी सवा ८ बजेदेखि मङ्गलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यु लगाएको छ ।
वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्न राजमार्गको ५सय मिटर क्षेत्रसम्म कर्फ्यु लगाइएको छ । वीरेन्द्रनगरको सडकमा एमसीसीविरुद्ध प्रदर्शन गरेका आन्दोलनकारीविरुद्ध प्रहरीले तीन दर्जनभन्दा बढी राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो ।


















