दुर्गम ठाउँबाट काठमाडौंमा अध्ययनरत विद्यार्थीका लागि नि:शुल्क इन्डक्सन

152

काठमाडौं । अति दुर्गम र दुर्गम ठाउँबाट काठमाडौंमा आएर अध्ययनरत विद्यार्थीका लागि नि:शुल्क विद्युतीय चुलो (इन्डक्सन) बाँडिने भएको छ । सरकारी शिक्षण संस्थाहरुमा विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले यस्तो कार्यक्रम ल्याएको हो ।

केन्द्रका वरिष्ठ अधिकृत कुन्दन पोखरेलका अनुसार काठमाडाैं उपत्यकाका सरकारी र सामुदायिक संस्थाहरुमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत दुर्गमका विद्यार्थीले नि:शुल्क इन्डक्सनका लागि आवेदन दिन पाउनेछन् । ‘बिजुलीको आन्तरिक खपत बढाउन र खाना पकाउने ग्यासलाई विद्युतीय चुलोले प्रतिस्थापन गर्ने सरकारको उद्देश्यलाई सहयोग पुग्नेगरी केन्द्रले यस्तो कार्यक्रम ल्याएको हो,’ पोखरेलले भने, ‘पहिलो चरणमा माग विश्लेषण गर्ने प्रयोजनका लागि पनि निवेदन माग गरिएकाले कति संख्यामा इन्डक्सन बाँडिदैछ भन्ने स्पष्ट छैन ।’

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले नि:शुल्क इन्डक्सन लिन चाहने विद्यार्थीहरुलाई फागुन २५ गतेसम्म निवेदन बुझाई सक्न भनेको छ । यस्तो सुविधा लिन नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र शिक्षण संस्थाको विद्यार्थी परिचयपत्र र सिफारिस मागिएको छ । केन्द्रले सार्वजनिक सूचनामार्फत निवेदन माग गरेको हो ।

‘दूर्गम क्षेत्रबाट काठमाडौं आई घरभाडामा लिई सरकारी वा सामुदायिक शिक्षण संस्थामा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई खाना पकाउने एलपी ग्यासको बढ्दो मूल्यको समस्याबाट राहत महसुस गराउन तथा विद्युतीय चुलोको पनि प्रवर्द्धन गर्नका लागि यस्तो कार्यक्रम ल्याइएको हो,’ केन्द्रले जारी गरेको सूचनामा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here