काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले एमसीसीको विषयमा नेपालका केही राजनीतिक दल र यसका नेताहरुले अपरिपक्व व्यवहार देखाएको भन्दै यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालिन रुपमा लिएर जानको लागि ड्यामेज गरेको टिप्पणी गरेका छन् ।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमसीसीको कारण नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा भएको क्षति नियन्त्रण गर्नको लागि निकै समय लाग्ने स्पष्ट पारेका छन् । उनले भने,‘एमसीसीबारे राजनीति धेरै गिजोलियो, एमसीसी पारित भएपछि हाम्रो पार्टीको धारणा आईसकेको छ । अब यसमा धेरै व्याख्या गर्नुहुँदैन् । हामी पनि सरकारमा हुँदा अघिल्लो सरकारले गरेको सम्झौतालाई अविछिन्न सरकारको निरन्तरताको जिम्मेवारी महशुस गरेर अघि बढाउने काम गरेका थियौं, तर त्यतिवेलापनि यसलाई गिजोल्ने काम भयो । वैदेशिक सम्बन्धको विषयमा यो तहको विवाद भएको नेपालमा यो पहिलोपटक हो । अरनीको राजमार्ग बनाउँदापनि भएको थिएन ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता भट्टराईले सुरुमा एमसीसीको समर्थन गर्नेहरुले पछि यसलाई विरोध गरेको र विरोध गर्दागर्दै समर्थन गरेको भन्दै आश्चर्य प्रकट गरे । उनले भने,‘यहाँ अपरिपक्व खालको क्षमता देखाउने काम भयो । यो मुलुकको लागि अन्तर्राष्ट्रिय सम्बन्ध दीर्घकालिन रुपमा लिएर जानको लागि ड्यामेज गरेको छ । यसको कन्ट्रोल गरेर रिपेर गर्नको लागि निकै समय लाग्छ। एमसीसीको कारण भोलि कुनै देशले हामीसँग सम्झौता गर्दा उनीहरु सोच्ने अवस्थामा पुगेका छन् । समग्रतामा यसले ड्यामेज गरेको छ । यसमा जो जिम्मेवार हो, उनीहरुले यो जिम्मा लिनुपर्छ । यो पारित नै गर्नुथियो भने किन गिजोलियो त ? परियोजनाको कस्ट त बढ्ने होला । कार्यान्वयनमा जाँदा, चार वर्षअघिको लागत र अबको लागत एउटै हुन्छ त ? थप व्ययभार लाग्छ। यो कसले व्यहोर्छ ? हिजो जतिबेला सुरु गर्छौ भनेर सम्झौता गरेका थियौं, त्यो ढिलो भयो नि । अन्तिममा यही गर्नुथियो भने किन यति लामो समयसम्म विरोध भयो ? उनीहरुले नै अहिले यसको जिम्मेवारी लिनुपर्छ । अबको चूनौति भनेको कार्यान्वयनको कुरा हो, यसमा बढेको कष्ट कहाँबाट व्यहोर्ने ?’
उनले रसियाले युक्रेनमाथि गरेको आक्रमण अनुचित रहेको टिप्पणी गरे । उनले भने,‘रुसले युक्रेनमाथि जुन आक्रमण गरेको छ, यो अनुचित छ । जेसुकै कारण भएपनि यो आक्रमण गलत हो । २१औं शताब्दीमा यो आक्रमण र सैन्य हस्तक्षेप मान्न पनि सक्दैनौं । हामी अहस्तक्षेपको सिद्धान्तमा छौं । विश्व शान्तिपूर्ण माध्यमबाट नै सबै समस्याको समाधान हुनुपर्छ । अहिले माईट ईज राईटको समय होईन । शक्तिको बलमा जाने कुराको हामी विपक्षमा छौं । हामी शान्तिपूर्ण पक्षमा छौं । यो युद्ध छिटो अन्त्य होस । नेपालीहरुको उद्धार होस । सरकारमा अहिले वक्तव्यमा तत्तपरता देखियो । तर, आफ्नो नागरिकको उद्धार गर्न उदासिन देखियो । यो सरकारको यस्तो संवेदनशीलतामा सक्रियता देखिएन । युक्रेनको मामिलामा होस या अरु मामिलामा यो सरकार आफूलाई असक्षम दर्ज गरिरहेको छ ।’
उनले मुलुकलाई छिटोभन्दा छिटो निर्वाचनमा लैजानुपर्नेमा जोड दिए । उनले भने,‘छिटोभन्दा छिटो निर्वाचनमा जाऔं । नयाँ सरकार बनाऔं । मुलुकले राजनीति स्थायित्व खोजिरहेको छ । सभामुखले जे गरिहनुभएकोछ, त्यो गल्ती गरिरहनुभएको छ। महाभियोग अन्तिम अस्त्र हो । त्यो खालको स्थितिमा एक जना राजनीतिककर्मीलाई किन पुर्याउने ? भन्ने हाम्रो भनाई हो । अहिले हाम्रो पर्खने र धैर्यताको बाँध टुटिरहेको छ । उहाँ आँफैले पनि महाभियोग खोजिनरहनुभएको छ । संसद् सुचारुको विषय पनि सभामुखको हातमा छ । या त उहाँले हामीले कारबाही गरेका सांसदहरुको सूचना टाँस गर्नुपर्यो, या त उहाँले मार्गप्रशस्त गर्नुपर्यो ।’
कुटनीतिज्ञ तथा पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले नेपालका सबै वामपन्थीहरु मिलेर कांग्रेसलाई पराजित गर्नुपर्ने टिप्पणी गरेका छन् । उनले राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु नहुने भन्दै वामपन्थीहरु मिलेर अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनको पार्टीलाई हराउनुपर्ने सनसनीपूर्ण टिप्पणी गरे ।
उनले भने,‘एमसीसी फेल खुवाउनुपर्दथयो । राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु हुँदैन् । सबै वाम मिलेर देउवालाई हराउनुपर्छ । चीन विरोधी अमेरिकी समर्थक फरेन पोलिसी अपनाउनेलाई दण्डित गराउनुपर्छ । नेपालले स्वाधिन भएर असल छिमेकी भएर बस्नुपर्छ ।’
उनले महाकाली सन्धी पारित गर्दा संकल्प प्रस्ताव पारित गरेजस्तै एमसीसी पारित गर्दा व्याख्यात्मक घोषणा पारित गरेको सुनाए । उनले भने,‘एमसिसीको प्रसंग जो छ, यो द्धिपक्षीयमात्रै होईन । त्रिपक्षीय पनि हो । अहिले एमसीसी कार्यान्वयन हुँदा विजुली खपत हुने कुरा गरिएको छ, यो विजुली खपत त नेपालमै हुन्थ्यो नि । एमसीसीमार्फत नेपालको विजुली भारतलाई बेच्ने कुरा हो । अमेरिकाले लगानी गर्ने, दक्षिणमुखी अर्थतन्त्र बनाउने काम हो । एमसीसीमा यत्रो विरोध भयो, तर नेताहरुले लाज पचाउनको लागि व्याख्यात्मक घोषणा गरेर पास गरे । महाकाली सन्धीमा पनि संकल्प प्रस्ताव पास भएको थियो । गठबन्धन जोगाउनको लागि यो व्याख्यात्मक घोषणा भएको हो ।’
उनले रुस–युक्रेन युद्धमा भारत र चीन तटस्थ बसेको बेला नेपालले युक्रेनको बारेमा प्रो–अमेरिकन वक्तव्य दिएको टिप्पणी गरे । उनले भने,‘हामी बल प्रयोगको विपक्षमा छौं । युक्रेनमा भएको घट्नाले हामीलाई असर परिसकेको छ । युक्रेनमा रहेका हाम्रा नेपालीहरुको रोजगारी खत्तम भयो, उनीहरुको पढाई डिस्टर्ब भयो । यता नेपालमा तेलको भाउ बढ्ने भयो । अब विश्वमा महँगी बढ्छ, अभाव हुन्छ ।’्
उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई कम्युनिष्ट नभएर राष्ट्रवादी नेताको रुपमा चित्रण गरे । उनले भने,‘पुटि कम्युनिष्ट होईन, उ त राष्ट्रवादी हो । पुटिन सोभियत संघभन्दा अघिको गौरव पूनःस्थापना गर्न चाहन्छ ।’
राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले एमसीसी पनि महाकालीजस्तै कहिल्यै कार्यान्वयन नहुने दाबी गरे । उनले एमसीसीमा भारतको पनि सहमति आवश्यक रहेको उल्लेख गर्दै भोलि भारतले स्विकृति नदिए के हुन्छ ? भन्दै प्रश्न गरे ।
उनले भने–‘एमसीसीलाई लिएर हामी यहाँसम्म लड्यौं। मैले त सुरुमै यो एमसीसी भन्ने वस्तु नेपालमा नभएर छोड्ने छैन भनेको थिएँ । एमसीसी यो माओवादी केन्द्रले ल्याएको हो । यसमा संलग्न नभएको कोही छैनन् भनेर अस्ति गगन थापाले संसद्मा सबैको नाम नै लिएर भने । तर, एमसीसीबारे जनतामा धु्रविकरण बनाउने काम भयो । व्याख्यात्मक घोषणा गरेर फेरि नेपालीलाई झगडा गराउने काम भयो । भारतले स्विकृति दिने कुरा पनि बाँकी छ । भारतलाई झ्वाँक चल्यो भने स्विकृति दिँदैन्। मोदीले ईपिजीको प्रतिवेदन नै बmुभेन। आफ्नै देशका प्रतिनिधिसमेत बसेर तयार पारेको रिपोर्ट नै मोदीले बुझ्दिन भने । भोलि एमसीसीको विषयमा भारतले मान्दिनँ भन्यो के हुन्छ ?’
केसीले आज हामी एमसीसीबाट अगाडि बढिसकेको भनिएपछि यो कहिल्यै कार्यान्वयनमा नजाने ठोकुवा गरे । उनले भने,‘हिजो यहाँ अनमिन आएको थियो, धेरैले त्यतिवेला अब अनमिन फिर्ता जाँदैन भनेका थिए, तर कसो कसो गरेर यहाँका नेताले पठाए, अब एमसीसी भनेको त्यही अनमिनलाई रिप्लेस गर्न आएको हो भन्नेपनि छ, यो फिर्ता जाँदैन् । पाँच वर्षभित्र एमसीसी कार्यान्वयन हुनुपर्छ । योभन्दा उता एक दिन पनि जानुहुँदैन् भनेर जनता सचेत हुनुपर्छ । होईन भने यी नेताले देशमा २५ वर्ष एमसीसी रहने प्रपञ्च गराउँछन् । हामीले हात काटेर दिईसकेका छौं । ६ वर्ष पनि हुन नदिउँ । महाकाली कार्यान्वयन भयो त ? २५ वर्ष भैसकेको छ त, यो त होल्ड गर्ने खेल हो । बनाउने भए पहिले नै बनिहाल्थ्यो नि ।’
अहिले नेताहरुलाई सत्ता भए हुने र पद भए हुने अरु केही नचाहिने अवस्था रहेको सुनाए । उनले भने,‘एमसीसी त्यसखालको दृष्टान्त हो । एमसीसी नेपाली जनताले गरेको होईन। तर, अहिले जबरजस्ती रुपमा समाज विभाजित भयो । मेलम्ची १३ अर्बको थियो, अहिले ३१ अर्ब पुग्यो यसको लागत, अरुण तेस्रोमा पनि त्यही भयो । अहिले एमसीसीमा जे हो, महाकालीमा ठ्याक्कै त्यही हो । एमालेमा महाकाली हुन्न भन्ने रुझान ल्यायो । पछि भारतको आश्वासन पाएपछि पारित को पक्षमा आयो । अहिले एमसीसीमा माओवादी जहाँ थियो, हिजो महाकालीमा एमाले पनि त्यही हो। प्रचण्डले नेपाली जनतालाई ठूलो च्यालेन्ज दिनुभयो । उहाँले नेपाली जनता राष्ट्रवादी छैनन भनेर अस्तिको पत्रकार सम्मेलनमा भन्नुभयो । नेपाली नेताहरु आफ्नो अनुकुल राष्ट्रिय मुद्दालाई दुरुपयोग गर्छन् र खेलबाड गर्छन् ।’
















