हङकङ कोभिड–१९ को पाँचौं लहरको सामना गर्दै

87

एजेन्सी ।  हङकङ अहिले कोभिड–१९ को पाँचौं लहरको सामना गरिरहेको छ।

व्यापक मात्रामा कोरोना संक्रमण देखिएसँगै अहिले हङकङका सडक र शपिङ मलहरु सुनसान देखिन थालेका छन्।

केहीले आफ्ना कर्मचारीहरुमा कोरोना संक्रमण देखिएसँगै आफ्नो व्यवसाय बन्द गरिसकेका छन्। यस्तो अवस्थामा सबै मानिसको कोरोना परीक्षण गराउने योजनासहितको पूर्ण लकडाउन आवश्यक हो वा होइन भन्ने विषयमा पनि बहस सुरु भएको छ।

त्यस्तै हङकङका हुलाक सेवा, बैंक र सार्वजनिक यातायात सेवा पनि प्रभावित भएका छन्।

ओमिक्रोन भेरियन्टसहितको कोरोना संक्रमण फैलिएसँगै ठूलो संख्यामा कोरोनाका संक्रमित देखिन थालेका छन्।

सरकारले पनि कोरोना संक्रमण नियन्त्रणको लागि भन्दै भौतिक दुरी कायम राख्ने र मास्क लगाउनेलगायतका नियममा कडाइ गरेको छ। तर, संक्रमण भने नियन्त्रणमा आएको छैन।

हङकङको सबैभन्दा व्यस्त जिल्लाको रुपमा रहेको कजवे बे बुधबार निकै सुनसान देखिएको थियो। सडक र पसलमा केही मानिस मात्र देखिएका थिए।

जार्डिन बजारमा पनि करिब आधा अर्थात् १२० पसलहरु बन्द थिए। किराना र अन्य आवश्यक सामग्री पसलहरु मात्र खुला थिए।

बेभर्ली मलकी एक व्यवसायी क्लो चेउङ आफ्नो व्यवसाय सञ्चालनको आशा लगभग समाप्त भएको बताउँछिन्। पछिल्लो दुई महिनायता व्यवसाय राम्रोसँग नचलेको कारण आगामी दिनमा व्यवसाय सञ्चालन गर्न कठिन अवस्था आएको  उनको भनाइ छ।

गत वर्षको तुलनामा उनको व्यापार ८० प्रतिशत घटिसकेको छ।

अहिले बिदाको दिनमा पनि मानिसहरु आउन छाडेको उनले बताएकी छिन्। आगामी जुन महिनामा भाडाको सम्झौता सकिएसँगै आफ्नो व्यवसाय बन्द गर्ने उनको तयारी छ।

त्यस्तै अन्य केही पसलमा पनि कोभिड–१९ संक्रमणको कारण अस्थायीरुपमा व्यवसाय बन्द गरिएको सूचना राखेर बन्द गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here