नेकपा एमालेसँगको संवादलाई सशक्त रूपमा अघि बढाउने

58

काठमाडौं । सरकारले विगत ६ महिनायता जारी रहँदै आएको संसद्को अवरोध खोल्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको संवादलाई सशक्त रूपमा अघि बढाउने भएको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निठवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध चार दलहरूको बैठकले संसद्को अवरोध खोल्ने विषयमा प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह गर्दै संवादलाई पनि सशक्त रूपमा अघि बढाउने निर्णय गरेको हो ।

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको २३ फागुनमा ६ महिना पुग्दै छ । २३ भदौबाट एमालेले संसद् अवरुद्ध गर्दै आइरहेको छ ।

सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन बैठकले संसद्को अवरोध खोल्ने विषयमा प्रतिपक्षी दल एमालेसँग आग्रह गर्ने र संवादलाई सशक्त रूपमा अघि बढाउने निर्णय गरेको जानकारी दिए ।

‘संसद्को अवरोध लामो समयसम्म हुँदा संसद् जनतामा नकारात्मक धारणा बन्न सक्छ, बैठकले प्रमुख प्रतिपक्षी दललाई सदन सञ्चालन गरेर पर्याप्त छलफल गर्ने वातावरण बनाउन आग्रह गरेको छ, त्यसका लागि एमालेसँगको वार्तालाई पनि सशक्त ढंगले अघि बढाउने बैठकको निर्णय छ,’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँग संसद्को अवरोध खोल्ने विषयमा संवाद गर्दै आइरहेका छन् । उनले केही दिनमा नै फेरि ओलीसँग संवाद गर्ने तयारी गरिरहेका छन् । यसअघि पनि प्रधानमन्त्री देउवाले तीनपटक पूर्वप्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष ओलीसँग ‘वान टु वान वार्ता’ गरेका थिए । दुईपटक प्रधानमन्त्री देउवा ओलीको निवास बालकोट नै गइसकेका छन् । राजधानी दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here