धनगढी । पाँचौ मुख्यमन्त्री अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्डकप २०७८ अन्तर्गत क्यामरुनी क्लब एभेनिरमाथि फेण्ड्स क्लबले सहज जित निकालेको हो ।
धनगढी रंगशालामा आइतबार भएको खेलमा ए डिभिजन लिग फुटबल क्लब फ्रेण्ड्सले २-० गोलको सहज जित निकालेको हो । फ्रेण्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईसले दुई गोल गरे ।
उक्त दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ५३ औं मिनेटमा जमोउलले गोल गर्दै फ्रेण्ड्सलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ६२ औं मिनेटमा जमोउलले पेनाल्टीमा गोल गर्दै फ्रेण्ड्सलाई २-० को जित दिलाए । एभेनिरका खेलाडीले लडाएपछि फेण्ड्सले पेनाल्टी पाएको थियो ।
खेलमा दुई गोल गरेका फ्रेण्ड्सका जमोउल एन्थोनी फ्रान्कोईस म्यान अफ द म्याच भए । उनले नगद १० हजार पाए । त्यसअघि निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । यस जितसँगै फ्रेण्ड्सले अब सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र बागमती युथ क्लबीचको विजेतासँग खेल्ने छ । कुल १० टोली सहभागी रहेको यस प्रतियोगिताको विजेता नगद २१ लाख प्राप्त गर्नेछ । यस्तो सोमबार हुने खेलमा आयोजक सुदुरपश्चिम-११ स्पोर्टस क्लब र हिमालयन शेर्पा क्लब प्रतिस्पर्धा गर्नेछन् । यो खेलको विजेता सेमिफाईनल नेपाल आयल निगम मनाङ मर्स्याङदीसँग खेल्नेछ ।


















