काठमाडौं । जब सेन्टरको नाममा ठगी धन्दा चलाएको आरोपमा काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट ९ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आइतबार उपत्यकाका विभिन्न ठाउँबाट २ युवतीसहित ९ जनालाई पक्राउ गरेको हो।
त्यस्तै लमजुङको दुधपोखरी गाउँपालिका–२ घर भई जरंखु बस्दै बालाजुमा जब प्लेसमेन्ट एण्ड ट्रेनिङ सेन्टर सञ्चालन गर्दै आएका २२ वर्षीय आनन्द मरहठ्ठा, सिरहा घर भई कोटेश्वरमा एनएन मल्टिप्रपोज प्रालि सञ्चालन गर्दै आएका २३ वर्षीय विवेक यादव, ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ घर भई आकाशेपुलमा एबिएस जब एण्ड ट्रेनिङ सेन्टर प्रालि सञ्चालन गर्ने २८ वर्षीय अश्विन राई पक्राउ परेका छन्।
सिन्धुलीको फिक्कल गाउँपालिका–२ घर भई कोटेश्वरमा सिन्धु रोजगारी सेवा सञ्चालन गर्दै आएका २२ वर्षीय घनश्याम पहाडी, रौतहटको चन्द्रपुर नगरपालिका–४ घर भई चाबहिलमा प्राक्षा जब इन्टरनेसनल मल्टिप्रपोज प्रालि सञ्चालन गर्दै आएकी २५ वर्षीया सृजना लामिछाने, मोरङको विराटनगर उपमहानगरपालिका–४ घर भई कोटेश्वरमा क्वीकमान्डु एमपी प्रालि सञ्चालन गर्दै आएकी ४० वर्षीया ज्ञानु न्यौपाने र रौतहटको मौलापुर गाउँपालिका–५ घर भई कोटेश्वरमै अनमोल जब मिल्टपल प्रालि सञ्चालन गर्दै आएका २२ वर्षीय रामवचन यादव छन्।

उनीहरुले जागिरको अवसर देखाई फारम भर्न लगाउने र त्यस वापत रकम लिएर ठगी गर्ने गरेको महाशाखाका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए।
उनीहरुले जब प्लेसमेन्ट कम्पनी दर्ता गर्ने र उक्त कम्पनीहरुले सामाजिक सञ्जालदेखि पत्रपत्रिका, पर्चा पम्प्लेटको माध्यमबाट प्रसारप्रसार गरी घरमै बसी रोगजारी गर्न मिल्छ भनि भ्रम छरी फारम भर्न लगाएर ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। ३ सयदेखि ५ सयसम्म फारम शुल्क लिने र १ हजारदेखि ६ हजारसम्म लिएर जब ग्यारेन्टी शुल्क लिने गरेका थिए। यसरी रकम लिएर जागिरमा नलगाउने लगाए पनि तोकिए बमोजिमको शुल्क नहुने भएपछि प्रहरमिा गुनासो पुगेको थियो। उनीहरुबाट विभिन्न व्यक्तिको नाममा काटिएको रसिदहरु समेत बरामद भएको छ।

















