काठमाडाैं । रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको सि.सं. ७ उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको फाल्गुण २२ गते शिवपुरीस्थित श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजमा रक्षा सचिव किरणराज शर्माले शुभारम्भ गर्नु भएको छ ।
उक्त समारोहमा समुद्घाटन मन्तव्य राख्नु हुँदै रक्षा सचिव शर्माले तालिममा सहभागी हुन छनौट भएका सबै वरिष्ठ अधिकारीहरूलाई बधाई दिनु हुँदै राष्ट्रिय सुरक्षा, राष्ट्र निर्माण र बृहत्तर राष्ट्रिय हितका आयामहरूबारे ज्ञान र बुझाई आदानप्रदान गर्ने उद्देश्यले रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रूपमा आयोजना गरेको यस प्रकारको उच्च तहको तालिमले राष्ट्रिय रणनीतिक योजना तथा नीतिहरू तर्जुमा गरी कार्यान्वयन गर्ने तथा राष्ट्रिय सुरक्षाका लागि जनता र सुरक्षासँग सम्बन्धित निकायहरूबीचको समझदारी अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको शुरुवातमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीले स्वागत मन्तव्य राख्नु भएको थियो । मिति २०७८ चैत्र ११ गतेसम्म सञ्चालन हुने यस तालिममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, विभिन्न मन्त्रालय एवं नेपाल रेडक्रसका वरिष्ठ अधिकारीहरु र संचारकर्मीहरु गरी जम्मा २७ जनाको सहभागिता रहेको छ ।
साथै, उक्त समुद्घाटन समारोहमा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा सुरक्षा निकायका विशिष्ट व्यक्तिहरु, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, विभिन्न विषयविज्ञहरु, बुद्धिजीवीहरु एवं सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।


















